काठमाडौं । बलात्कारपछि हत्या गरिएकी सुदुरपश्चिम प्रदेशको कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले छोरी माथि भएको घटनामा आधारित रहेर बनेको फिल्म ‘कोपिला’ हेरेकी छन् । मकवानपुर जागरण अभियानले शुक्रबार हेटौंडाको एनएस सिनेमा हलमा आयोजना गरेको च्यारिटी शोमा फिल्म हेरेपछि आफ्नो छोरीको जस्तो पीडा अरुले नभोगुन् भन्ने कामना गरिन् ।
दुर्गादेवीले फिल्मबाट समाजमा उच्च शिक्षा मिल्ने बताइ । ‘मेरो छोरी जस्तो अरु छोरीहरुले बलात्कृत हुनु नपरोस्’, उनले भनिन्, ‘यो फिल्मबाट महिला हिंसा अन्त्य हुनेछ ।’ शोमा फिल्मका कलाकार गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल,प्रकृती खरेल,जुनिफर पौडेल,श्रेया आचार्यलगायतको उपस्थिति थियो । कार्यक्रममा दुर्गादेवीलाई आभार पत्र सहित नगद पचास हजार प्रदान गरिएको थियोे । पन्तलाई फिल्मका निर्देशक शिवम् अधिकारी, निर्माता मणिराज गौतम,गणेश गिरी,सुबासराज काफले, जागरण अभियानका अध्यक्ष कृष्णराज कोईरालाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए ।
फिल्ममा निर्मलाको भूमिकामा संजिवनी खरेलले अभिनय गरेकी छिन । उनले पहिलो पटक अभिनय गरेपनि उनको अभिनयलाई दर्शकहरुले रुचाएका छन् । फिल्ममा आमाको भुमिकामा अभिनय गर्ने कलाकार सरिता गिरिको अभिनयलाई धेरैले तारीफ गरेकाछन् । कार्यक्रममा पत्रकार महासंघ कन्चनपुरका अध्यक्ष विष्णु अवस्थीले स्व निर्मला पन्तको कथालाई उठान गरेर फिल्म बनाएकोमा आभार व्यक्त गरे । कन्चनपुरबाटै आएकी महिलाअधिकारकर्मी प्रेमपति रानाले पनि फिल्मबाट आम समाजलाई सुसुचित गराउने भन्दै आम छोरीचेलीहरुलाई यस्ता घटनाबाट सजग बनाउने बताइन् ।
कार्यक्रममा कलाकार निर्माता रमित ढुगाना,कृषा चौलागाई,पत्रकार निर्देशक डब्बु क्षेत्री,निर्देशक गोबिन्द गौतम लगाएतका संचारकर्मी तथा महिलाअधिकारकर्मी, संचारकर्मीहरुको बाक्लो सहभागीता रहेको थियो ।