साना सपना सजाउदै जय र संगीता

काठमाडौं । आगामी शुक्रबार रिलिज हुने नेपाली फिल्म ‘दि कर्मा’को ‘साना साना सपना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा केतन क्षेत्रीको स्वर रहेको छ भने मानस बिक्रम थापा र अंकित बाबु अधिकारीको संगीत रहेको छ । गीतका रचनाकार मानस बिक्रम थापा हुन् । गीतमा कलाकारहरु जय राज राय र संगीता नापितलाई देख्न सकिन्छ । प्रेमभावमा बनेको यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् ।

फिल्ममा देवकुमार श्रेष्ठको निर्देशन छ । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।

फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । फिल्ममा जय र संगीतासँगै परमिता आरएल राणा, करण वर्मा, नीता ढुंगाना, बुद्धि तामाङ, अनुप सक्सेना लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको निर्माता जय राज रायले बताए । अर्का निर्माता श्रीदेवका अनुसार यो चलचित्र नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि रिलीज हुनेछ ।