कोरोनाका कारण रोकियो बोण्ड सिरिजको प्रिमियर

बेइजिङ(एजेन्सी) । चीनको बुहान सहरबाट फैलिएको कोरोना भाइरसको कहर नियन्त्रणमा आउने अवस्थामा छैन । विश्वमाझ आतंकका रुपमा फैलिएको यो भाइरसले अब फिल्म क्षेत्रलाई पनि असर पु¥याउन थालेको छ । यो भाइरसको प्रत्यक्ष मारमा जेम्स बोण्ड सिरिजको हलिउड फिल्म ‘नो टाइम टु डाई’ परेको छ । कल्ट स्पाईको भूमिका निर्वाह गरेर चर्चामा आएका डेनियल क्रेग अभिनित फिल्मको चीनमा हुने प्रिमियर रद्द गरिएको छ ।

यो फिल्मलाई चीनमा आगामी अप्रिलमा रिलिजको तयारी भइरहँदा चीनमा फैलिएको कोरोना भाइरसका कारण यसको रिलिज मिति केही पछाडि धकेलिने फिल्मकर्मीले बताएका छन् । चीनमा बलिउडदेखि हलिउड फिल्म सर्वाधिक रुचाइने गरिएको छ । गत महिना नयाँ वर्षपछि थिएटर बन्द गरिएका छन् । यदि चीनमा अप्रिलमा थिएटर खुल्यो भने पनि फ्यानहरुले बोण्डको फिल्म हेर्न पाउने छैनन् । आम मानिसले चीनको यात्रा नगर्न सुझाव दिएपछि पनि फिल्म चीनमा प्रिमियर हुने सम्भावना टरेको हो ।

फिल्म ‘नो टाइम टू डाई’ मात्र होइन, भ्यालेन्टाइन डेको मौका पारेर रिलिज हुने कैयौं फिल्म पनि चीनमा प्रदर्शन हुन सकेनन् । यसबाहेक फेब्रुअरीमा रिलिज हुने अन्य फिल्मको प्रदर्शनमा पनि रोक लगाइएको छ ।

बोण्ड फ्रेन्चाइजीको फिल्मका लागि चीन ठूलो बजार मानिन्छ ।  डेनियल क्रेग स्टारर ‘स्पैक्ट्रे’ ले यूके पछि चीनमा सर्वाधिक व्यापार गरेको थियो । यो फिल्मको कुल ओभरसिज व्यापार ८ सय ८१ मिलियन डलर थियो । यसमा चीनको कलेक्सन मात्रै ८४ मिलियन डलर थियो ।