खुल्ला आकाशमा आइन् प्रेमपिण्डकी सनी

काठमाडौं । फिल्म ‘प्रेमपिण्ड’ की अभिनेत्री सनी रौनियार नयाँ गीत ‘खुल्ला आकाश’ मार्फत दर्शकमाझ आएकी छन् । आइतबार परेको १ सय १० औँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा सनीले महिला सशक्तिकरणको आवाज बोल्ने गीत सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक गीतमा सनी आफै फिचर्ड छिन् । वाउ म्यागेजिन, जोन्टा क्लब, कौशल अधिकारी र विकाश रौनियारले खिचेका फोटोले गीतको भिडियोलाई सुन्दर बनाएको छ । झन्डै २४ वर्ष पछाडी आफ्नै आवाजमा गीत लिएर आएकी सनी भन्छिन ’समाजमा अझै पनि व्याप्त पुरुषप्रधान मानसिकता बीच महिलाको दृष्टिकोण र विचारहरु बाहिर ल्याउने पर्ने आवश्यकता महसुस गरेँ । यस गीत मार्फत महिलाको भित्री भावना उजागर गर्ने सक्दो प्रयास गरेकी छु ।’

सनीले अगाडी थपिन ’मेरो गीत मेरो मनको नजिक छ, किनकि यसले महिला सशक्तिकरण र सामाजिक समानताको संदेश दिन्छ । यो गीत नेपाली समाजका सबै महिलालाई समर्पित गर्छु, जसले आफु भित्र अथाह सम्भावना छन् र आफ्नो सिमा खुल्ला आकाश हो भन्ने विश्वास राख्छन ।’

सनीले २४ वर्ष अगाडी ’सनी’ नामक गीती एल्बम दर्शकलाई पस्किएकी थिइन् ।संगीतकार राजु सिंहले संगीत भरेको गीतमा विजय शिवाकोटीको शब्द रचना छ । भुषण दाहालले निर्देशन गरेको भिडियोमा जीवन रिजालको छायांकन र भरत रेग्मीको सम्पादन छ । सनीले ‘सडक’, ‘सीता’, र ‘दैव सन्जोग’ जस्ता सिनेमामा अभिनय गरेकी छन् ।