कोरोनाले सर्यो कान्स

लसएन्जल्स(एजेन्सी) । कोरोना भाइरसको बढ्दो खतरालाई मध्यनजर गर्दै विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभल सरेको छ । आयोजकले मे १२ देखि मे २३ सम्म आयोजना हुने फेस्टिभल जून या जुलाईसम्म सार्ने निर्णय लिएका छन् । फेस्टिभलमा ४० हजारको सहभागिता हुने विश्वास आयोजकको थियो ।

फ्रान्सको कान्समा हुने यो फेस्टिभल अघि नै फ्रान्स सरकारले गत मार्च ८ मा १ हजार भन्दा अघि व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको थियो । सोही समयदेखि ७३ औं संस्करणको कान्स फिल्म फेस्टिभल सर्ने अनुमान लगाइएको थियो । फ्रान्समा कोरोना भाइरसका कारण हालसम्म ३ सय ७२ को ज्यान गइसकेको छ ।

फेस्टिभलको अफिसियल ट्वीटरमा स्वास्थ्य संकट र फ्रान्स तथा विश्वमा बनिरहेको स्वास्थ्य संकटको अवस्थालाई मध्यनजर गर्दै कान्स फिल्म फेस्टिभल १२ मेदेखि २३ मेसम्म आयोजना नगरिने लेखिएको छ । कोरोना भाइरसकै प्रकोपका कारण यसअघि ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन अवार्ड् पनि स्थगित गरिएको छ ।