नयाँ स्वरुपमा आउँदै शक्तिमान

मुम्बई(एजेन्सी) । सन् ९० को दशकमा भारतीय टेलिभिजनमा लोकप्रिय सुपरहिरो सिरियल ‘शक्तिमान’ पुनः दर्शकमाझ आउने भएको छ । कोरोनाका कारण भारतभर लकडाउन भइरहँदा दुई चर्चित धार्मिक सिरियल ‘रामायण’ र ‘महाभारत’को पुनः प्रसारण भएको थियो ।

शक्तिमानको भूमिकामा अभिनय गरेर चर्चामा आएका मुकेश खन्नाले यो सिरियल पुनः दर्शकमाझ आउन लागेको बताएका छन् । ‘पछिल्लो तीन वर्षयता हामी शक्तिमानको दोस्रो संस्करणको काम गरिरहेका छौं । हामी शक्तिमानको सिक्वेल यसकारण बनाउँदैछौं कि शक्तिमानको अन्त्यमा के हुन्छ भन्ने कौतुहलता दर्शकमाझ अझै छ । त्यो कौतुहलतालाई दोस्रो संस्करणमा मेटाउनेछौं’, मुकेशले भनेका छन्, ‘मलाई लाग्छ, जसै अहिलेको परिस्थिति फेरिन्छ, हामी चाँडै शो लिएर दर्शकमाझ आउँदैछौं । किनकी यो समयमा शक्तिमानको धेरै माग छ ।’

सिरियल ‘महाभारत’मा मुकेशले भीष्म पितामहको भूमिकामा अभिनय गरेका छन् । उनको नेचुरल अभिनय देखेर जोकोही पनि दिवाना भएका थिए । त्यसपछि उनी शक्तिमान भएर टेलिभिजनमा नयाँ कीर्तिमान रचे ।