कोरोना मुक्त मानिसलाई प्रमाणपत्र

सान्टियागो(एजेन्सी) । कोरोना भाइरसको विरुद्ध आज सारा विश्व लडिरहेको छ । यस्तो अवस्थामा कोरोना संक्रमणको उपचारबाट बाँचेका मानिसहरुलाई अहिले भाग्यशाली मानिँदै आएको छ । कोरोनालाई मात दिने त्यस्ता बिरामीलाई चिली सरकारले ‘भाइरस फ्री सर्टिफिकेट’ दिने भएको छ ।

चिलीका स्वास्थ्यमन्त्री जैमी मनालिचले कोरोना भाइरसको उपचारबाट स्वस्थ बिरामीलाई प्रमाणपत्र सँगै उनीहरुलाई स्वतन्त्र घुम्ने अनुमति दिने बताए । ‘आगामी हप्तासम्म हामी प्रमाणपत्र दिनेछौं । कोरोनाबाट मुक्ति मिलेकाहरुले कोरोनाबारे सचेतना जगाउनेछन् भन्नेमा हामी आशावादी छौं’, उनले भनेका छन् । उनले आगामी हप्तासम्म चिलीमा कोरोना भाइरसको मामला बढ्न सक्ने चेतावनी दिए ।

चिलीमा बिहीबारसम्म १ हजार २ सय ७४ बिरामी कोरोनाको उपचारपछि घर फर्किईसकेका छन् । चिलीमा हालसम्म ६ हजार कोरोना भाइरस संक्रमित भेटिएका छन् । जहाँ ५७ जनाको मृत्यु भइसकेको छ ।