आइफाको ७ सय करोड कोरोना पीडितलाई

मुम्बई(एजेन्सी) । मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले आइफा एवार्डमा खर्च हुने ७ सय करोड रुपैंयाँ कोरोना महामारीका लागि खर्च गर्ने निर्णय लिएका छन् । बिहीबार कोरोना महामारीका विषयमा बोलाइएको समिक्षात्मक बैठकमा शिवराज नेतृत्वको सरकारले यो निर्णय लिएको हो ।

बैठकमा मुख्यमन्त्री चौहानले एवार्डको राशी कोरोना पीडितको सहयोगका लागि महत्वपूर्ण हुने बताएका थिए । ‘अहिलेको अवस्थामा हामीले यो कदम उठाउन जरुरी थियो । हामीले एवार्डलाई निकै उत्कृष्ट किसिमले आयोजना गर्ने तयारी गरिरहेका थियौं । तर यो महामारीका कारण सबैको ध्यान एवार्डतिर जान सकेको छैन । त्यसकारण एवार्डको बजेट हामीले महामारी पीडितलाई सहयोग गर्ने निर्णय लिएका छौं’, उनले भनेका छन् ।

मध्यप्रदेशमा गत मार्चमा आइफा २०२० को आयोजना हुने तयारी भइरहेको थियो । त्यो समयमा काँग्रेसको कमलनाथ सरकार सत्तामा थिए । त्यही समयमा कमलनाथले सारा विश्वको ध्यान आफ्नो राज्यतर्फ आकर्षित गर्न एवार्ड समारोहको योजना बनाएका थिए । उनको योजना अनुसार एवार्डमा ७ सय करोड खर्च हुने थियो । त्यस समयमा संसदमा विपक्षमा रहेका शिवराजले यति धेरै रकम एवार्डमा खर्च गर्न लागेको भन्दै आलोचना गरेका थिए ।