२०२१ मा आमिरको लाल सिंह चड्डा

मुम्बई(एजेन्सी) । कोरोनाको कारण बलिउडको फिल्म उद्योगले ठूलो नोक्सानी व्यहोरिरहेको छ । कैयौं फिल्मले रिलिज मिति सारिसकेका छन् भने कैयौंले सुटिङ नै रोकिसकेका छन् । बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ पनि कोरोनाको ग्रहण लागेको समाचार बाहिर आएको छ । यसैकारण निर्माण पक्षले फिल्मलाई यो वर्ष रिलिज नगर्ने योजना बनाएको छ ।

आमिर र करीनाको यो फिल्म यो वर्षको क्रिसमसमा रिलिज हुने सम्भावना अन्यन्तै न्यून छ । त्यहीकारण निर्माण पक्षले आगामी वर्ष फिल्म रिलिजको योजना बनाएका छन् । फिल्मका लेखक अतुल कुलकर्णीले फिल्म आगामी वर्ष रिलिज हुने खुलाए ।

त्यसो त यसअघि नै रोहिट शेठ्ठीको फिल्म ‘सूर्यवंशी’ र रणवीर सिंहको फिल्म ‘८३’को रिलिज मिति पनि कोरोनाको प्रकोपका कारण सरिसकेको छ । सलमान खानको फिल्म ‘राधे’को सुटिङ पनि रोकिएको छ ।

फिल्म ‘लाल सिंह चड्डा’मा आमिर खानलाई विभिन्न भूमिकामा दर्शकले हेर्न पाउनेछन् । फिल्मसँग जोडिएको उनका लुक्सहरु सामाजिक सन्जालमा भाइरल भइरहेका छन् । यो फिल्म सन् १९९४ मा रिलिज हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । यसको निर्देशन रोबर्ट जमैकिसले गरेका थिए । फिल्ममा टम हेङ्क्स प्रमुख भूमिकामा थिए ।