मदिराको अधिक सेवनले प्रतिरोधक क्षमता कमजोर

वासिङ्टन(एजेन्सी) । लकडाउनको समयमा अधिकांश मानिसहरु घरमै समय बिताइरहेका छन् । यस्तो बेला मदिराका सौखिनहरु अन्य समयको तुलनामा केही बढी मात्रामा मदिरा सेवन गरिरहेका छन् । एक ताजा अध्ययनले मदिराको बढी सेवनले मानिसको शरीरमा हुने प्रतिरोधात्मक क्षमता कमजोर हुने देखाएको छ । जसकारण कोरोना भाइरससँग जुध्न बिरामीलाई गाह्रो हुने बताइएको छ ।

यो अध्ययनमा जोडिएका डा. सेनन सोवन्डलले मदिराले प्रतिरक्षा प्रणालीलाई सुस्त र कमजोर बनाउने बताए । ‘धेरै मदिरा सेवन गर्दा शरीरको महत्वपूर्ण सबै अंगको कार्यप्रणालीमा खराब असर पर्छ । जसकारण रोग प्रतिरोधक क्षमता कमजोर भएर कुनै पनि किसिमको संक्रमण तुरुन्तै मानिसमा देखिन्छ’, उनले भनेका छन् ।

अमेरिकाको द मेयो क्लिनिकले गरेको अध्ययन अनुसार बढी मदिरा सेवन गर्दा व्हाइट ब्लड सेल्सको संख्यामा कमी आउँछ र एक खास किसिमको प्रोटिन बढ्छ । जसकारण मानिसको प्रतिरोधक क्षमता कमजोर हुन्छ । त्यस्तै अध्ययनले बढी मदिरा पिउने मानिसमा निमोनिया हुने सम्भावना धेरै हुन्छ । कोरोनाको संक्रमण भएपछि मानिसमा निमोनियाको लक्षण पनि देखिन्छ ।