मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान भारतमा कोरोना महामारी फैलनु अघि फिल्म ‘राधे’को सुटिङमा व्यस्त थिए । तर मुलुकमा कोरोना संक्रमण फैलिएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनको घोषणा गरेपछि उनले सुटिङको काम रोकेका छन् । सलमान यो फिल्मको काम सकेपछि अर्को फिल्म टार्जन प्रभावित जंगल इड्भेन्चर फिल्म ‘शेर खान’को काम शुरु गर्नेछन् ।
समाचार अनुसार सलमानले हालका लागि ‘शेर खान’को काम रोकेका छन् । उनले यो फिल्मलाई दुई वर्ष पछाडि धकेलेका छन् । यो फिल्म उनका भाइ सोहेल खानको प्रोजेक्ट हो, जसमा सोहेलकै निर्देशन हुनेछ । यो फिल्म रिलिज भयो भने सोहेलको चौथो निर्देशकीय काम हुनेछ । यो फिल्म सलमानका लागि विशेष छ, किनकी सलमानले यसअघिका फिल्ममा विभिन्न किसिमका एक्सन भूमिका निर्वाह गरिसकेका छन् । तर यो फिल्ममा उनी गेम चेन्जर एक्सनका रुपमा आफूलाई प्रस्तुत गर्न चाहन्छन् ।
यो फिल्मलाई सलमानले सन् २०२० मै शुरु गर्न चाहन्थे, तर अहिले आएर कामलाई सन् २०२२ मा पु¥याएका छन् । सलमानका विशेष मित्रका अनुसार सलमान भाइ सोहेलले लेखेको स्क्रिप्टमा सन्तुष्ट छैनन् । ‘सोहेलले तीनपटकसम्म स्टोरीबोर्ड तयार पारिसकेका छन् । तर सलमान सन्तुष्ट भएका छैनन् । सलमान शेर खानलाई एक्सन जनरामा गेम चेन्जर बनाउन चाहन्छन्’, ती साथीले भनेका छन् ।
त्यसो त सोहेल पनि सलमानले आवश्यक ठानेसम्मको लागि स्क्रिप्टमा काम गर्न तयार छन् । सोहेल पनि ‘शेर खान’ एक्सन जनरा र सलमानको करियरमा एउटा कोशेढुंगा साबित होस् भन्ने चाहन्छन् । कामकै कुरा गर्दा सलमान चाँडै नै ‘राधेः योर मोस्ट वान्टेड हीरो’मा देखिँदैछन् । यो फिल्ममा दिशा पटानी र रणदीप हुड्डा पनि प्रमुख भूमिकामा देखिदैछन् ।
यो फिल्म यसै वर्षको इदमा आउने तयारी भए पनि लकडाउनका कारण फिल्म रिलिज सर्ने अनुमान गरिएको छ । अहिलेको अवस्थामा फिल्महल पनि बन्द रहेको र पोस्ट प्रोडक्सनको काम पनि रोकिएकोले फिल्मको रिलिज केही पर सर्ने तयारीमा छ ।