सेल्फ आइसोलेशनमा पाकिस्तानी प्रधानमन्त्री

इस्लामाबाद(एजेन्सी) । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कोरोना भाइरस टेस्ट गरिएको छ । एक कोरोना शंकास्पदको सम्पर्कमा आएपछि इमरानको पनि कोरोना टेस्ट हुनुपर्ने आवाज उठ्दै आएको थियो । ती व्यक्तिको रिपोर्ट पछि पोजेटिभ आएको थियो ।

समाचार अनुसार इमरानलाई कोरोना भाइरस टेस्ट पछि सेल्फ आइसोलेशनमा पठाइएको छ । पाकिस्तानमा हालसम्म ९ हजार ७ सय ४९ कोरोना पोजेटिभ भेटिएका छन् भने २ सय ९ जनाको निधन भइसकेको छ । इमरानले अप्रिल १५ मा पाकिस्तानका प्रसिद्ध एधी फाउण्डेसनका प्रमुख अब्दुल सत्तार एधीका छोरा फैसल एधीसँग भेटघाट गरेका थिए । भेटघाट लगत्तै फैसललाई कोरोना पोजेटिभ देखिएको थियो । यही कारण इमरानले आफ्नो पनि टेस्ट गर्ने निर्णय लिएका थिए ।

उनको अफिसमा स्वास्थ्यकर्मीले नमूना लिएका थिए । उनको टेस्टको रिपोर्ट बुधबार आउँदैछ । त्यसैकारण उनलाई रिपोर्ट आउनु अघि नै सेल्फ आइसोलेशनमा राखिएको छ । पाकिस्तानमा कोरोनाको संक्रमण दिनानुदिन फैलन थालेपछि इमरानले देशबासीका नाममा सम्बोधन गर्दै नमाज सम्भव घरमै पढ्न आग्र गरेका थिए ।