कनिकालाई प्रहरीको ४० प्रश्न

मुम्बई(एजेन्सी) । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकी बलिउड गायिका कनिका कपूर लगातार विवाद र चर्चामा आइरहन्छिन् । यी गायिकामाथि कोरोनालाई लिएर लापरवाही गरेको आरोप लागेको छ । यही विषयलाई लिएर उनले बुधबार सरोजिनी नगर थानामा बयान दिएकी छन् ।

कनिकाले बयानमा आफूलाई निर्दोष दाबी गरेकी छन् । ‘म ब्रिटेनदेखि मुम्बई मार्च १० मा आएको थिएँ । एयरपोर्टमा मेरो स्क्रिनिङ भयो । लखनउमा म ११ मार्चमा पुगें । त्यो समयमा त्यहाँ मेरो स्क्रिनिङ भएन । एयरपोर्टमा कुनै किसिमको कुनै व्यवस्था थिएन’, उनले बयानमा भनेकी छन्, ‘भारतमा १८ मार्च विदेशबाट आउने सबै यात्रीहरुलाई क्वारेन्टाइनमा बस्नुपर्ने एड्भाइजरी भएको थियो । तर म १० मार्चमै यूकेबाट भारत आइसकेको थिएँ । मलाई यो समयमा कुनै पनि जानकारी भएन । त्यसकारण म क्वारेन्टाइनमा बसिनँ ।’

बयानमा कनिकाले होलीपछि नजिकका साथीहरुसँग १४ र १५ मार्चमा लन्च र डिनर कार्यक्रममा सहभागी भएको बताएकी छन् । उनले १८ मार्चमा आफ्नो स्वास्थ्य खराब भएपछि तुरुन्तै आफूले कोरोना जाँच गराएर डाक्टरको सल्लाह लिएको बताएकी छन् । त्यसपछि मात्र आफू उपचारका लागि अस्पतालमा भर्ती भएको दाबी गरेकी छन् ।

उनले यूकेबाट मुम्बई र लखनउसम्मको यात्रामा आफू कैयौं मानिसहरुको सम्पर्कमा आएपनि ती मानिसहरुको कोरोना टेस्ट हुँदै सबै नेगेटिभ रिपोर्ट आएको उल्लेख गरेकी छन् । लखनऊको सरोजनी नगर थानामा गायिकाका विरुद्ध धारा १८८, २६९ र २७० अनुसार मुद्धा दर्ता भएको थियो । छानबिनका समयमा प्रहरीले कनिकालाई ४० प्रश्न गरेको थियो ।