सगरमाथामा फाइभ जी सेवा सुरु

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा शुक्रबारबाट फाइभ जी सेवा सुरु भएको छ । चीन तर्फबाट सगरमाथा आरोहण गर्ने पर्वतारोहीलाई लक्षित गर्दै चीनले उत्तर क्षेत्रको आधार शिविरमा यो सेवा शुरु गरेको हो । चीनको सरकारी टेलिकम चाइना मोबाइलको तिब्बत शाखाले समुन्द्री सहतबाट ६ हजार ५ सय मिटरको उचाईमा रहेको आधार शिविरमा यो सुविधा सुरु गरेको हो । यसअघि ५ हजार ३ सय मिटर र ५ हजार ८ सय मिटरमा पनि सेवा शुरु गरिएको थियो ।

चाइना मोबाइलको तिब्बत शाखाका महाप्रबन्धक झाउ मिनले पर्वतारोही, वैज्ञानिक अनुसन्धान, वातावरणीय अनुगमन र उच्च प्रविधिबाट प्रत्यक्ष प्रसारण गर्न फाइभ जीले सहयोग गर्ने बताए ।

चिनिया मोबाइल कम्पनी हुवावेले चाइना टेलिकमसँगको सहकार्यमा आधार शिविरमा फाइभ जी विस्तार गरेको हो । हुवावेका अनुसार ५ हजार ३ सय मिटरको उचाइमा फाइभ जीबाट १ दशमलब ८८ जीबी डाटा डाउनलोड र २ सय १५ एमबीपीएस डाटा अपलोड गर्न सकिनेछ ।

चीनले आफ्नो क्षेत्रबाट सगरमाथाको सफल आरोहण गरेको ६० वर्ष र चीनबाट सगरमाथाको उचाईको मापनको ४५ वर्ष पुगेको अवसर पारेर आधार शिविरमा फाइभजी सेवा विस्तार गरिएको चाइना मोबाइलले जनाएको छ ।
–एजेन्सीको सहयोगमा