चीनमा बन्यो कोरोना भाइरस रोक्ने कार

बेइजिङ(एजेन्सी) । कोरोना भाइरसका कारण विश्वभर २ लाख ४८ हजार बढी मानिसको निधन भइसकेको छ । यो महामारीबाट ३५ लाख मानिस संक्रमित छन् । अहिले अमेरिका महामारीको सर्वाधिक ठूलो हटस्पट बनेको छ । अमेरिकामा कोरोनाकै कारण ६८ हजार बढी मानिसको मृत्यु भइसकेको छ । यो महासंकटका बीच कोरोना भाइरसको आधार इलाका मानिएको चीनको एक कम्पनीले कोभिड–१९ रोक्ने कार बनाएको छ ।

चिनियाँ अटो कम्पनीहरुले कारमा ब्याक्टेरिया र भाइरसको ट्रान्समिसनलाई रोक्ने सुविधा हुने दाबी गरेका छन् । उनीहरुले यी कारमा बस्दा कोरोना भाइरसबाट बच्ने सम्भावना बढी हुने दाबी गरेका छन् । चिनियाँ अटो कम्पनी गिलीले आफ्नो गाडीको एसयूबीमा रहेको एयर फिल्ट्रेशन सिस्टमले कोरोना भाइरसको संक्रमणलाई रोक्ने बताएको छ । कम्पनीले नयाँ कोरोना भाइरसको संक्रमण शुरु भएपछि कार बनाएको जनाएको छ । जसलाई इन्टेलिजेन्ट एयर प्योरिफिकेसन सिष्टम नाम दिइएको छ ।

‘यो एसयूवी ० दशमलब ३ माइक्रोमिटरको आकारको पार्टिकलको ९५ प्रतिशतसम्म रोक्न सक्षम छ । कोरोना भाइरस ० दशमलब ०६ देखि ० दशमलब १४ माइक्रोमिटरको हुन्छ । कम्पनीले ‘हेल्दी कार प्रोजेक्ट’ नामबाट ५ दशमलब २ करोड डलरको लागतमा यो काम शुरु गरेको हो । चीनमा कार बनाउने अन्य कैयौं कम्पनीे यसै डिजाइनमा नयाँ कार बनाउन थालेका छन्’, गिलीले भनेको छ ।

गिलीले आफ्नो कारका लागि बम्पर माग आइरहेको दाबी गरेको छ । कार सार्वजनिक भएको केही समयमै ३० हजार अर्डर आएको जनाएको छ । तर केही विशेषज्ञहरुले कार कम्पनीहरु आफ्नो उत्पादनलाई बेच्नका लागि कोरोनाको नाम जोडिरहेको बताइरहेका छन् । चाइना मार्केट रिसर्च ग्रुपका एमडी शुआन रेन सबै उपभोक्तालाई कार कम्पनीको अफरमा नफस्न आग्रह गर्छन् ।