मुम्बई(एजेन्सी) । अभिनेताद्वय सलमान खान र शाहरुख खान बलिउडका दुई ठूला नाम हुन् । यी दुईको अनस्क्रिन क्यामेस्ट्रीलाई दर्शकहरु निकै रुचाउँछन् । तर पछिल्लो केही वर्षदेखि उनीहरुले सँगै काम गरेका छैनन् । बलिउडका चर्चित निर्देशक राजकुमार हिरानीले अभिनेता शाहरुखसँग एक फिल्मको विषयमा कुराकानी गरेका छन् । जुन फिल्म दुई नायकको कथामा आधारित हुनेछ ।
समाचार अनुसार शाहरुखले निर्देशक हिरानीसँग काम गर्ने इच्छा व्यक्त गरेका छन् । यद्यपि राजकुमारले शाहरुखलाई कुनै अर्को फिल्मको लागि कुरा गरेको खबर पनि बाहिर आएको छ । राजकुमार दुई नायकको कथाको फिल्ममा शाहरुख र सलमानलाई लिन चाहन्छन् । तर शाहरुखले भने आफूले सोलो स्टारर फिल्म गर्न चाहेको खुलाएका छन् । शाहरुखको यो कुरा सुनेका राजकुमार त्यहाँबाट फर्किएका छन् ।
दुवै स्टारका फ्यानहरु दुवैलाई एकै पर्दामा देख्न लालयित छन् । त्यसो त यसअघि पनि शाहरुख र सलमानलाई लिएर सन्जय लीला भन्साली फिल्म बनाउने योजनामा थिए । तर उनको योजना सफल भएन । अभिनेता शाहरुख ‘जीरो’ बक्सअफिसमा नराम्ररी फ्लप भएपछि अन्य कुनै पनि फिल्ममा देखिएका छैनन् । उनी राम्रो कथा र निर्देशकसँग काम गर्ने मुडमा छन् ।
सन् १९९५ मा रिलिज राकेश रोशनको ब्लकब्लष्टर फिल्म ‘करण–अर्जुन’मा शाहरुख र सलमानको अनस्क्रिन क्यामेस्ट्रीलाई दर्शकले सर्वाधिक रुचाएका थिए । उनीहरुले ‘कुछ–कुछ होता है’ जस्तो रोमान्टिक फिल्ममा पनि काम गरे । यो फिल्ममा सलमान विशेष भूमिकामा थिए । त्यस्तै ‘हम तुम्हारे हे सनम’मा पनि दुवैले अभिनय गरेका थिए । पछिल्लो १८ वर्ष यताका फिल्म हेर्ने हो भने उनीहरु एक अर्काका फिल्ममा अतिथी भूमिकामा देखिँदै आएका छन् ।