अजयको शैलीमा प्रहरीको स्टन्ट (भिडियो)

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अजय देवगन आफ्नो एक स्टन्टका कारण निकै चर्चित छन् । उनले यो स्टन्ट आफ्नो करियरको शुरुवाती समयदेखि अहिलेसम्म गरिरहेका छन् । दुई बाइक र दुई कारमा उभिएर भिलेनको अगाडि आउने अजयको यो शैली अहिले पनि उत्तिकै चर्चित छ । सन् १९९१ मा रिलिज फिल्म ‘फूल और काँटे’बाट अजयले यो स्टन्टको शुरुवात गरेका हुन् । उनी दुईवटा कुदिरहेको बाइकमा उभिन्छन् । अहिलेको समयमा भने उनले यो एक्सनमा अपडेट गरेका छन् । फिल्म ‘सन अफ सरदार’मा उनले दुई घोडामा र ‘गोलमाल रिटनर्स’ मा दुई कारमा टेकेर उभिएका छन् ।

हाल सामाजिक सन्जालमा यस्तै एक भिडियो भाइरल भइरहेको छ । यो भिडियोमा एक प्रहरी अधिकृत अजयको जस्तै स्टन्ट गरिरहेका छन् । यो भिडियो भाइरल हुनासाथ प्रहरीलाई हैरानी भएको छ । यी प्रहरी अधिकृतको नाम मनोज यादव हो । जो मध्यप्रदेशको दामोह जिल्लामा अवस्थित नरसिंह गढ पुलिस स्टेसनका इन्चार्ज हुन् । भिडियोमा उनी दुईवटा कुदिरहेका कारमा एक एक वटा खुट्टा राखेर उभिएका छन् । उनले प्रहरीको बर्दी नै लगाएका छन् । भिडियोको पृष्ठभूमिमा रोहित सेठ्ठीको फिल्म ‘सिंघम’को शीर्ष गीत पनि बजिरहेको सुनिन्छ ।

समाचार अनुसार मनोजको यो स्टण्टलाई लिएर प्रशासनले उनलाई कारवाही गरेको छ । उनलाई प्रशासनले ५ हजार जरीवाना लगाएको छ । भिडियो भाइरल हुनासाथ उच्च अधिकारीहरुले यसमा गम्भीर विचार गर्दै यसले युवामा गलत सन्देश जाने निचोड निकालेका थिए । सागर क्षेत्रका इन्स्पेक्टर जनरल अनिल शर्माले दामोहका सुपरीटेन्डेन्ट अफ पुलिस हेमन्त चौहानलाई यो विषयको अनुसन्धान गर्न निर्देशन दिएका थिए । अनुसन्धान पछि एसपीले सब इन्स्पेक्टरमाथि जरिवाना लगाउँदै आइन्दा यस्तो गल्ती नगर्न सचेत गराएका थिए ।