एकै वर्षमा फ्लप तीन खान

मुम्बई(एजेन्सी) । बलिउडका तीन खान अर्थात आमिर खान, सलमान खान र शाहरुख खान लामो समयदेखि बक्सअफिसमा राज गरिरहेका छन् । दर्शकहरु यी तीन खानको फिल्म हेर्न व्यग्र प्रतिक्षामा रहन्छन् । तर सायद कमैलाई मात्र थाहा होला सन् २०१८ यी तीन खानका लागि राम्रो साबित हुन सकेन ।  हिन्दी फिल्मको इतिहासमा सायदै त सन् २०१८ मा तीन खानको करिश्मा बक्सअफिसमा चल्न सकेन । १२ वर्षमा पहिलोपटक तीन खान बक्सअफिसमा फ्लप साबित भए । यी तीन खानको जादुलाई कमगर्ने काम रणवीर सिंहको ‘पद्मावत’ र रणबीर कपूरको फिल्म ‘संजू’ले गरे ।

सन् २०१८ को डिसेम्बर १२ मा शाहरुखको फिल्म ‘जीरो’ प्रदर्शन भएको थियो । यो फिल्म शाहरुखका फ्यानका लागि बहुप्रतिक्षित थियो । पहिलोपटक शाहरुखले फिल्मी पर्दामा पुड्को मानिसको भूमिकामा अभिनय गरेका थिए । दर्शकले यो फिल्मले बक्सअफिसमा जति धेरै व्यापार गर्छ भन्ने आशा राखेका थिए, त्यो अनुसार फिल्म असफल भयो । फिल्म समीक्षकदेखि लिएर दर्शकसम्मले मनपराएनन् । आनन्द एल रायको निर्देशनमा बनेको यो फिल्ममा शाहरुखका साथ अनुष्का शर्मा र कटरीना कैफको पनि अभिनय थियो । यो फिल्मले बक्सअफिसमा जम्मा ९२ करोड मात्र गर्न सक्यो ।

अर्का अभिनेता आमिर खान वर्षमा एउटा मात्र फिल्म रिलिज गर्दछन् । बलिउडका यी मिष्टर परफेक्सनिस्टको फिल्म फ्यानका लागि उत्तिकै प्रतिक्षाको विषय रहन्छ । उनी आफ्नो फिल्मका लागि निकै मेहनत गर्छन् । सन् २०१८ को नोभेम्बर ८ मा रिलिज उनको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को निर्देशन विनयकृष्ण आचार्यले गरेका थिए । फिल्ममा अमिताभ बच्चन, कटरीना कैफ र फातिमा सना शेखको पनि अभिनय थियो । यो फिल्मले व्यापार विश्लेषकसँगै दर्शकलाई पनि निरास बनाइदियो । निकै लामो समयपछि आमिरको फिल्मले यति निराशाजनक व्यापार गरेको थियो ।.फिल्मले १ सय ५१ दशमलब १९ करोडको कमाइ गरेको थियो ।

यस्तै अभिनेता सलमान खानको फिल्म ‘रेस ३’ मा एक्सनसँगै ग्ल्यामर पनि थियो । तर फिल्मको कथा र निर्देशनले सबैलाई निरास बनाइदियो । रेमो डिसुजा निर्देशित फिल्ममा बबी देवल, अनिल कपूर, ज्याकुलिन फर्नान्डिज, डेजी शाह, साकिब सलीम जस्ता कलाकारको अभिनय थियो । फिल्मको ट्रेलरलाई नरुचाएका दर्शकले फिल्मलाई पनि त्यही नजरले हेरिदिए । यो फिल्मले १ स्य ६६ दशमलब ४० करोड मात्र आम्दानी गर्यो