लिपुलेकमा कुन्जनाले गाडिन् नेपालको झन्डा

काठमाडौं । कोरोना महामारीका कारण देश लकडाउनमा भइरहँदा छिमेकी मुलुक भारतले मानसरोवर जाने बाटो भन्दै नेपाल र भारतको सीमाना लिपुलेक र नालापानीमा सिमा मिचेपछि त्यसको देशव्यापी विरोध भइरहेको छ । यसै परिप्रेक्ष्यमा सीमाना नेपालकै हो भन्ने सम्बन्ध चेतनामूलक भिडियोहरु पनि सार्वजनिक भइरहेका छन् ।

हाँस्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले ‘लकडाउनमा धुर्मुस सुन्तली लिपुलेकमा’ शीर्षकको सर्ट फिल्म सार्वजनिक गरेका छन् ।फिल्ममा छिमेकीले जग्गा मिचेर बाटो बनाए पनि घरको मूल मान्छेले वास्ता नगरेको र त्यसका विरुद्ध महिलाले आवाज उठाएको प्रसंगलाई देखाइएको छ ।

भिडियोमा धुर्मुस दुई गेटअपमा छन् । जसमा उनलाई नेपालको र भारतीय नेताका रुपमा देखाइएको छ ।  भिडियोमा सुदिप बरालको छायांकन र सम्पादन तथा सीताराम र कुन्जनाको निर्देशन छ । भिडियोमा सीताराम र कुन्जनाले नै अभिनय गरेका छन् ।