जहाँ पुरुष प्रवेशमा प्रतिबन्ध छ

रियो दी जेनेरियो(एजेन्सी) । ब्राजिलमा एउटा यस्तो गाउँ छ, जहाँ महिला मात्र बस्छन् । अर्थात् यो गाउँमा पुरुषलाई प्रवेश निषेध नै छ । यहाँका केही महिला विवाहित छन् तर उनीहरुका पति गाउँको नियम अनुसार अन्य स्थानमै बस्छन् । यहाँको पुरा प्रशासन महिलाकै हातमा छ र सबै दुरुस्त छन् । फेब्रुअरीमा कोरोना भाइरसको अमेरिका या यूरोपमा ठूलो महामारी नहुँदा त्यही बेला यी महिलाले आफ्नो गाउँलाई क्वारेन्टाइन बनाइसकेका थिए । अर्थात् बाहिर बस्ने साथीभाई तथा आफन्तलाई आफ्नो गाउँमा प्रवेशमा निषेध गरिसकेका थिए ।  यो गाउँमा ६ सय महिलाका घर छन् । यहाँ हरेक किसिमका व्यवस्था महिला आफै गर्छन् । मिडियामा आएको जानकारी अनुसार यो गाउँका महिला निकै सुन्दर छन् र अधिकांश कुमारी नै छन् । ब्राजिलको दक्षिण पूर्वमा रहेको यो गाउँको नाम नोइवा डो कोर्डिएरो हो । जसको अर्थ गुँडकी दुलही भन्ने हुन्छ ।

गाउँका केही महिला विवाहित नै छन् । गाउँको नियम अनुसार छोरा १८ वर्षको उकालो लागेपछि गाउँमा बस्ने अनुमति दिइँदैन । यो मामलामा उनीहरुका पति पनि पर्छन् । विवाहित महिलाका पतिलाई अन्य कुनै स्थानमा गएर काम गर्न र बस्नुपर्ने हुन्छ । उनीहरु साताको एक पटकमात्र यहाँ आउन पाउँछन् । त्यहाँका महिलाहरु पुरुष हुनुभने गाउँको सुन्दरता, व्यवस्था र आत्मीयतामा असर पर्ने दाबी गर्छन् । उनीहरुका अनुसार यहाँ कुनै समस्या छैन । यदी कुनै समस्या आएमा महिलाहरुले नै मिलेर त्यसको समाधान गर्छन् । गाउँमै बस्ने रोजली फर्नान्डिज यहाँका महिला सबै कुरा साझा गर्ने बताउँछिन् । यहाँका महिलाहरु खेतदेखि घरका सबै काम आफैं गर्छन् । महिलाहरुले यहाँ एक सामुदायिक भवन बनाएका छन् । जहाँ सबै भेला भएर टेलिभिजन हेर्छन् । यहाँका महिलालाई जहिल्यै पनि गफ गर्ने समय प्रशस्त हुन्छ । उनीहरु एकअर्काको कपडा पालैपालो लगाउँछन् ।

यहाँ गाउँ बसेको एउटा लामो कथा छ । सन् १८९१ मा मारिया सेन्हारिना डी लीमाको चरित्रमाथि लान्छना लगाएर उनलाई आफ्नो गाउँबाट निकालिएको थियो । त्यहीदेखि मारियाले यो स्थानमा बस्न थालिन् र एक्ला महिलाको साथ लिएर गाउँमा समुदाय बनाइन् । यो गाउँमा पुरुषको शासन चल्दैन । यो निर्णय लिनु पछाडिको पनि एउटा कथा छ । सन् १९४० मा एक इसाई पादरी यो गाउँमा आएका थिए । पादरीले यहाँको एक युवतीसँग विवाह गरेपछि चर्चको स्थापना गरे । यसपछि पादरीले पितृसत्तात्मक व्यवस्था शुरु गरे । महिलालाई मदिरा पिउने, संगीत सुन्ने, कपाल काट्ने र गर्भनिरोधको साधन प्रयोग गर्ने जस्ता काममा प्रतिबन्ध लगाउन शुरु गरे ।

जब सन् १९९५ मा पादरीको निधन भयो, त्यही समयदेखि महिलाले गाउँमा कुनै पनि पुरुषको शासन चल्न नदिने निर्णय लिए । त्यसपछि उक्त पादरीले पुरुषवादी सोचका साथ जुन धर्मको व्यवस्था गरेका थिए, महिलाले ती सबै कुरालाई ध्वस्त बनाइदिए । तर महिलाहरुले आफ्नो गाउँमा बस्न चाहने पुरुषका लागि सर्त राखे । सन् २०१४ मा यो गाउँ त्यतिबेला विश्वभर चर्चामा आयो, जतिबेला यहाँका केही महिलाले अविवाहित पुरुषसँग प्रेमका लागि अपिल गरे । त्यो समयमा २३ वर्षीया नेल्माले यहाँका सुन्दर महिलाहरु पुरुषका लागि तड्पिइरहेका छन् भन्दै सामाजिक सन्जालमा लेखिन् ।