इजरायलमा बन्यो अनौठो मास्क

जेरुसेलम(एजेन्सी) । कोरोना भाइरसको संक्रमणबाट बचाउनका लागि इजरायलको एक कम्पनीले अनौठो किसिमको मास्क तयार पारेको छ । मेसिन जडित मास्कलाई रिमोटका माध्यमबाट चलाउन सकिन्छ । यो मास्क लगाएपछि खाना खाँदा मास्क निकाल्नु पर्दैन् । अर्थात् रिमोटको सहाराले मास्कमा रहेको मुखको भाग खुल्दछ ।

कम्पनीले कोरोना भाइरसको संक्रमणबाट बचाउनका लागि विशेष डिभाइस जडित मास्क बनाएको जनाएको छ । यो मास्क लगाउने मानिसले रिमोटबाट सबै काम गर्न सक्छन् । कम्पनीले डिभाइस जडित यो मास्क लगाएर रेष्टुरेन्टमा जाँदा खतरा कम हुने दाबी गरेको छ । मास्क लगाएर खान खानेबेलामा जब चम्चालाई मुखसम्म लगिन्छ, त्यो बेला मास्क आफैं खुल्दछ । तर आइसक्रिम खानु पर्यो भने चाहिँ मास्क खोल्नै पर्छ ।

इजरायले कोरोना भाइरसको संक्रमणको मामलामा कमी आएपछि बजार खुल्ला गरेको छ । यहाँका रेष्टुरेन्टलाई खास समयसम्म खाना लैजाने शर्तमा खोल्न दिइएको छ । कम्पनीले भाइरसको विरुद्ध बनेको डिभाइस सुरक्षित उपकरण रहेको दाबी गरेको छ । उसका अनुसार डिभाइस आफ्नो वरपर बसेका मानिसबाट सुरक्षित राख्दछ । आगामी महिनासम्म ठूलो मात्रामा मास्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।