‘छिमेकीका लागि भारत खतरा’

इस्लामाबाद(एजेन्सी) । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुकका लागि भारत खतरा रहेको बताएका छन् । नेपाल र चीनसँग भारतको सीमा विवाद चर्किइरहँदा इमरानको यो भनाई आएको हो । उनले भारतको केन्द्र सरकारलाई पुनः एकपटक हिन्दुवादी फासीवादी सरकार भनेका छन् ।

उनले ट्वीटमा ‘हिन्दुवादी फाँसीवादी मोदी सरकार आफ्नो अभिमानी विस्तारवादी नीतिहरु, जुन नाजीहरुको लेबेनसोहोम नीति जस्तै छ, त्यो भारतको छिमेकीका लागि खतरा बनिरहेको छ’ लेखेका छन् । उनले बंगलादेशको नागरिकता कानून, नेपाल र चीनसँग भएको सीमा विवाद र पाकिस्तानका विरुद्ध झूठो अभियान चलाएर खतराको धम्की दिएको आरोप लगाएका छन् । उनले ट्वीटमा भारत प्रशासित कश्मीरको मुद्दा पनि उठान गरेका छन् । ‘यी सबै कुरा भारत प्रशासित कश्मीरमाथि अवैध कब्जा भएपछि हो । जुन चौथो जेनेभा सम्मेलन अनुसार एक अपराध हो । उनीहरु पाकिस्तान प्रशसित कश्मीरमाथि पनि दाबी गरिरहेका छन् ।

इमरानको ट्वीटको पक्ष र विपक्षमा तिब्र प्रतिक्रियाहरु आइरहेका छन् । अब्दुल कादिर नामक ट्विटर प्रयोगकर्ताले इमरानलाई गलत भनेका छन् । उनले यदि हिन्दुहरुको विस्तारवादी नीति हुने हो भने भारतमात्र नभई सारा विश्वमा सनातन धर्म मात्र हुने उल्लेख गरेका छन् । त्यस्तै शाहजहाँ मलिकले एक देशको अमित्रतापूर्ण रवैया र अतिवादी नीति छिमेकीका लागि खतरा बनेको उल्लेख गरेका छन् ।

भारत र नेपालबीचको तनाव भारतले लिपुलेक इलाकामा एक सडक उद्घाटनपछि भएको थियो । यो बाटो लिपुलेक हुँदै चीनको मानसरोवर जाने बाटो हो । यो सडक बनाएपछि नेपालले कडा शब्दमा भारतको कदमको विरोध गरेको थियो । यसपछि नेपालको मन्त्रीपरिषदले एक नयाँ नक्सा जारी गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेखलाई आफ्नो हिस्सा बनाएको थियो । ५ महिना अघि भारतले जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेखलाई समेटेको थियो ।