अस्पतालमै डाक्टर र नर्सले गरे बिहे

लण्डन(एजेन्सी) । ब्रिटेनका एक डाक्टर र नर्सले अस्पतालमा विवाह गरेको तस्बिर सामाजिक सन्जालमा भाइरल भइरहेको छ । दुवैले आफ्नो विवाह कोरोना महामारीमै गर्ने निर्णय लिएका हुन् । जसका लागि उनीहरुले कुनै ठूलो समारोह स्थल भन्दा पनि आफू कार्यरत अस्पताललाई नै रोजे । विवाहको कार्यक्रम पनि उनीहरु कार्यरत अस्पतालमै भएको थियो ।

कोरोना महामारीका कारण विश्वभर विवाह र सामाजिक कार्यक्रम रोकिइरहेका छन् । यस्तो अवस्थामा लण्डनको स्ट्रिट थोमस अस्पतालमा कार्यरत दुवैले विवाह गरेका हुन् । विवाह गर्नका लागि उनीहरुलाई विशेष अनुमति दिइएको थियो । २४ वर्षीया नर्स जेन टिपिङ र ३० वर्षे डाक्टर अनालान नवारान्तमको यो विवाहमा पाहुनाले अनलाइन लाइभ स्ट्रिमको माध्यमबाट आशिर्वाद दिएका थिए ।

उनीहरुको विवाह अगष्टमै तय भएको थियो, तर कोरोना भाइरसको महामारीका कारण उनीहरुले विवाहको मितिलाई परिवर्तन गर्नुपर्यो । दुवैको परिवार उत्तरी आयरल्याण्ड र श्रीलंकामा रहेकाले महामारीले गर्दा वैवाहिकस्थलमा उपस्थित हुन पाएनन् । जोडीको आफन्तका लागि अनलाइन स्ट्रिमको व्यवस्था मिलाइएको थियो । उनीहरुले सँगै नाँचेका पनि थिए । उनीहरुको विवाहको तस्बिर सामाजिक सन्जालमा भाइरल भएपछि स्वास्थ्यमन्त्री मेट हेनकोकले पनि ‘यो शानदार खबर’ भन्दै शुभकामना दिए ।