बेरोजगार हुँदैछन् पाका कलाकार

मुम्बई(एजेन्सी) । महाराष्ट्र र मुम्बईमा लागू लकडाउन र कोरोना भाइरसको बढ्दो संक्रमणकाबीच राज्य सरकारले बलिउड र टेलिभिजन जगतलाई पुनः सुटिङ गर्न शर्तसहित अनुमति दिएको छ । शर्तमध्ये एउटा शर्त ६५ वर्ष भन्दा बढी उमेरका कलाकारलाई सुटिङमा सहभागी नगराइने छ ।

महाराष्ट्र सरकारको तर्फबाट लागु गरिएको यो शर्तले अमिताभ बच्चन, अनुपम खेर, नसीरुद्दीन शाह, मिथुन चक्रवर्ती, ज्याकी श्राफ जस्ता बलिउडका तमाम पाका अभिनेता बेरोजगार हुने खतरा देखिएको छ । किनकी अब ६५ वर्ष भन्दा बढी उमेरका बलिउडका प्रख्यात कलाकार, निर्माता, निर्देशक, लेखक, गीतकार र पर्दा पछाडि काम गर्ने प्राविधिकलाई कोरोना भाइरसको खतराबीच सुटिङ गर्न अनुमति दिइएको छैन ।

उमेरले ७७ वर्षमा टेक्दै गरेका अमिताभले पछिल्लो समयमा राम्रा फिल्महरु दर्शकलाई दिइरहेका छन् । लेखकहरु पनि अमिताभलाई हेरेर उनको क्यारेक्टर स्क्रिप्टमा उतार्छन् । दर्शकहरु पनि अमिताभलाई फरक गेटअपमा देख्न चाहन्छन् । अमिताभ अभिनित ‘गुलाबो सिताबो’, ‘ब्रम्हास्त्र’, ‘बटरफुलाई’, ‘झुण्ड’, ‘हेराफेरी ३’ र तमिल फिल्म ‘उयर्नथा मनिथन’ यसै वर्ष रिलिज हुने तयारीमा रहेका फिल्म हुन् । यीमध्ये कतिपयको सुटिङ भइसकेको छ भने कतिपय सुटिङको चरणमा छन् ।

यही कुरालाई मध्यनजर गर्दै इण्डियन फिल्म एण्ड टेलिभिजन डाइरेक्टर्स एसोसिएसनले मुख्यमन्त्रीलाई पत्र लेख्दै ६५ वर्ष भन्दा बढी उमेरका कलाकार, निर्माता, निर्देशक, गीतकार, लेखकलाई सुटिङ र फिल्मसँग जोडिने प्रक्रियामा सहभागिता जनाउनका लागि अनुमति दिन माग गरेको छ । उनीहरुलाई सरकारलाई आफ्नो सर्तमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।