आयुष्मानलाई जोकर हुने रहर

मुम्बई(एजेन्सी) । हलिउड फिल्म ‘जोकर’ जस्तो नकारात्मक भूमिका निर्वाह गर्ने चाहना बलिउड अभिनेता आयुष्मान खुरानालाई पनि छ । उनले हालै इन्स्टाग्राम पोस्टमा यो कुराको खुलासा गरेका हुन् । आयुष्मानले कलाकार स्वप्नील पवारद्वारा बनाएको एक चित्रलाई साझा गरेका थिए । जुन चित्रमा आयुष्मानलाई जोकरको चरित्रमा ढालिएको थियो । यो चित्र स्वप्नीलको जस्ट इमेजिन सिरिजको हिस्सा हो । जसमा बलिउडका अन्य कलाकारको पनि स्केच चित्र बनाइएको छ ।

आयुष्मानले यो कलाकृतिको सराहना गर्दै ब्याटमेनको विश्वकै प्रख्यात भिलेनको भूमिका निभाउन आफ्नो इच्छा व्यक्त गरेका छन् । ‘के म साँच्चै कुनै यस्तो व्यक्ति जस्तै देखिन्छु । जोसँग कुनै योजना छ ? तपाईंलाई थाहा छ म कस्तो छु ? म कुनै कारको पछाडि दौडिने एक कुकुर जस्तै छु । मलाई थाहा छैन कि यदि त्यो कुरा मेरो हातमा आयो भने के गर्नुपर्छ भनेर । म अराजकताको एजेन्ट हुँ । कुटिल, डराउने, राक्षस, संवेदनाहिन, षडयन्त्रकारी तर पनि छिटो र शान्त । जहिल्यै पनि जोकर जस्तो कुनै नेगेटिभ भूमिका निभाउने मेरो चाहना छ । मेरो दिमागलाई पढ्ने र यस्तो शानदार चित्र बनाएकोमा स्वप्नील तपार्ईंलाई धन्यवाद ।’ आयुष्मानले लेखेका छन् ।

वर्षको शुरुवातमा टोड फिलिप्सको सर्वाधिक सराहना गरिएको फिल्म ‘जोकर’ मा उत्कृष्ट अभिनय गरेका जोक्विन फिनिक्सले ओस्कार अवार्डमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जितेका थिए ।