गुलाबो सिताबोलाई चोरीको आरोप

मुम्बई(एजेन्सी) । फिल्म ‘गुलाबो सिताबो’लाई रिलिज अघि नै चोरीको आरोप लागेको छ । फिल्मका लेखक जूही चतुर्वेदीमाथि चोरीको आरोप लागेको हो । प्रहरीमा यो विषयमा उजुरी दर्ता भएको छ र निर्मातलाई कानूनी सूचना पठाइएको छ । तर निर्माण पक्षले यी आरोपहरुलाई निराधार भनेको छ ।

फिल्मका लेखकलाई अकीरा अग्रवालले स्क्रिप्ट चोरीको आरोप लगाएकी हुन् । उनी दिवंगत लेखक राजीव अग्रवालकी छोरी हुन् । उनले पिता राजीवले ‘सिनेस्तान इण्डियाज स्टोरीटेलर स्क्रिप्ट कन्टेस्ट’ मा ‘१६ मोहनदास लेन’ नामबाट एक कथा लेखेर पठाएका थिए, जसलाई निर्णायकले छनोट गरेको थियो । कानूनी सूचना अनुसार अग्रवालले मार्च २०१८ मा आफ्नो कथा जम्मा गरेर उनले प्रतियोगितामा सर्ट लिस्टमा पनि परेको थियो । जून २८, २०१८ मा प्रतियोगिताका लागि कथाको अन्तिम स्क्रिप्ट पनि भेला पारिएको थियो । जुन स्क्रिप्ट सबै निर्णायकको हातमा पुगेको थियो ।

‘गुलाबो सिताबो’का निर्माताहरुलाई अकीराको तर्फबाट वकील रिजवान सिद्दीकीद्वारा फिल्मको पुरा स्क्रिप्ट हेर्न माग गर्दै कानूनी सुचना पठाएका हुन् । अकीराले यो विषयमा मुम्बईमा जुहू प्रहरी कार्यालयमा उजुरी पनि दर्ता गराएकी छन् । उनले फिल्मको कथा, त्यसको पृष्ठभूमि र विषय ‘१६ मोहनदास लेन’ सँग मिल्दोजुल्दो रहेको आरोप लगाएकी छन् । उजुरीमा उनले मध्यस्थताका लागि स्क्रीनराइटर एसोसिएशन (एसडब्ल्यूए) सँग पनि सम्पर्क गरेको उल्लेख गरेकी छन् । एसोसिएशनले चतुर्वेदीलाई आफ्नो स्त्रिप्ट ल्याउन भनेको छ । तर चतुर्वेदीले स्क्रिप्ट ल्याउन सकेकी छैनन् ।