विवाह अघि यौन सम्बन्ध राख्दा सय कोर्रा

जर्कार्ता(एजेन्सी) । इण्डोनेसियामा एक जोडीलाई विवाह अघि नै यौन सम्बन्ध राखेकोमा इस्लामी कानून अनुसार सय कोर्रा लगाइएको छ । इण्डोनेसियाको आचे प्रान्तको बेसार जिल्लामा अवस्थित एक मस्जिद बाहिर यो जोडीलाई कोर्रा लगाइएको हो । कोर्रा लगाउँदा त्यसको पीडा सहन नसकेपछि युवक बेहोस भएका थिए । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

इण्डोनेसियामा आम रुपमा यस्तो सजाय दिइँदा ठूलो संख्यामा मानिसलाई बोलाइन्छ । तर कोरोना भाइरस संक्रमणको कारण केही मानिस मात्र त्यहाँ पुगेका थिए ।इण्गोनेसियाको आचे प्रान्तमा इस्लामी कानून शरिया लागु गरिएको छ । जुन कानून अनुसार विवाह अघि यौन सम्बन्ध राख्नु दण्डनीय अपराध हो । यो जोडीलाई सजाय दिइनु अघि उनीहरुको शरीरको तापक्रम मापन गरिएको थियो र मास्क लगाएर कोर्रा लगाइएको थियो ।

बेसार जिल्ला अदालतका सरकारी अभियोजक कार्यालयका सामान्य अपराध प्रभाग प्रमुख अगुस केलाना पुत्राले युवा जोडीले इस्लाम कानून उल्लंघन गरेकाले जनही सय कोर्रा लगाइएको बताए । त्यस्तै अर्का एक युवकलाई होटलमा एक युवतीका साथ भेटिएपछि युवकलाई ४० कोर्रा लगाइएको छ । तर युवतीको उमेर कम भएपछि उनलाई छोडिएको छ ।

आचे प्रान्तको इस्लामिक कानून अनुसार मदिरा पिउने, यौन सम्बन्ध राख्ने, होमोसेक्सुअल हुने र जुवा खोल्नेलाई कोर्रा सजाय दिइन्छ । यो कानूनलाई इण्डोनेसियाको सरकारले सन् २००५ मा लागू गरिएको थियो ।