श्री गणेशका गणेशको निधन

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजन अभिनेता जगेश मुकाटीको मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा श्वास सम्बन्धी बिरामीका कारण निधन भएको छ । लामो समयदेखि दमको रोगी उनी ४७ वर्षका थिए । उनी केही वर्षदेखि मोटोपनको बिरामबाट पनि पीडित थिए । गुजराती थिएटरमा चर्चित उनले कैयौं टेलिभिजन सिरियल तथा हिन्दी गुजराती फिल्ममा अभिनय गरेका थिए ।

जगेशले ‘अमिता का अमित’, ‘कसम से’ जस्ता सिरियलमा काम गरे पनि धीरज कुमारले निर्माण गरेको सिरियल ‘श्री गणेश’मा भगवान गणेशको प्रमुख भूमिका निभाएर लोकप्रिय बनेका थिए । उनले उनले अनगिन्ती विज्ञापनमा अभिनय गर्नुका अलावा ‘हंसी तो फंसी’ र ‘मन’ फिल्ममा पनि अभिनय गरे । उनले ‘चाल जीवी लईए’ नामक गुजराती फिल्ममा पनि अभिनय गरे । यो गुजराती हिट फिल्म हो ।

जगेशका बाल्यकालिन साथी सन्जय गोराडियाले चार दिन अघि श्वास लिन समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । जहाँ अक्सिजनको मात्रा कम भएपछि भेन्टिलेटरमा राखिएको थियो । ‘कैयौं वर्षदेखि उसको वजन पनि बढिरहेको थियो । उसको वजन पछिल्लो पटक १ सय ५० किलोसम्म पुगेको थियो । उनलाई हामीहरुले मोटोपन कम गर्न सर्जरी गर्न पनि सल्लाह दिएका थियौं’, उनले भने ।