काठमाडौं । युट्युबमा रुचाइएको गीत ‘साइली’ले राजधानीमा शुक्रबार सम्पन्न ‘हिट्स एफएम म्युजिक अवार्ड’ मा सर्वाधिक चार विधामा अवार्ड जितेको छ । गीतका लागि गायक हेमन्त राना, संगीतकार कालीप्रसाद बास्कोटा, संगीत संयोजक रिकेश रानाले एक–एक अवार्ड चुम्दा गीतले ‘रेकर्ड अफ द इयर’को विधामा पनि बाजी मा¥यो ।
गायक शिव परियारले गीत ‘छहरे खोला’का लागि ‘उत्कृष्ट गायक’को अवार्ड पाउँदा गायिका बानिका प्रधान ‘पूर्णिमाको रात’का लागि ‘उत्कृष्ट गायिका’ ठहरिइन् । अवार्डमा नवगायिका वर्तिका ईएम राई ‘खै’का लागि ‘उत्कृष्ट महिला पप’ र ‘उत्कृष्ट रचना’, रक ब्यान्ड १९७४ एडीको ‘हजार सपना’ एल्बम ‘एल्बम अफ द इयर’, गीत ‘च्याङ्बा’का लागि एक्सिस व्याण्ड ‘रक भोकल पर्फमेन्स’ संगीतकार हरि लम्साल गीत ‘आज फेरि’का लागि ‘बेस्ट कम्पोजिसन’ बने ।
लोक गायक विरही कार्कीको गीत ‘आमाको तस्बिर’ अवार्डमा ‘फोक रेकर्ड अफ द इयर’ हुँदा पाश्र्व गीतमा फिल्म ‘लुट २’ को ‘ठमेल बजार’ उत्कृष्ट ठहरियो । यो गीतका लागि संगीतकार कालीप्रसाद बास्कोटाले नै अवार्ड जिते । समूह गायनमा ‘सत्याकृत’ को रक भजन ‘गणेश गणनायक’ अब्बल बन्यो । सांगीतिक जोडी उदय र मनिला सोताङ गीत ‘दुई दिनको’का लागि ‘बेस्ट भोकल कोलाब्रेसन’ विधामा उत्कृष्ट ठहरिए । नयाँ गायक समिक सापकोटा ‘सधैं सधैं’का लागि ‘नवप्रतिभा अवार्ड’को हकदार बने ।
कार्यक्रममा ‘म पत्थरको देउता होइन’, ‘बितेका कुराले ’, ‘म त दूरदेखि आएँ’, ‘हररात सपनीमा’ गीतका गायक दीप श्रेष्ठलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइएको थियो । कार्यक्रममा शिव परियार, अजर जंगम, तृष्णा गुरुङ, काठमाडौं ज्याज कन्जर्भेटरी आन्सम्बल, सत्याकृत, पहेँलोबत्ती र मेन्टल रेडियोलगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।