एलिजाबेथको रहस्यमयी कालो ब्याग

लण्डन(एजेन्सी) । ब्रिटेनको राजघराना र शाही परिवारसँग जोडिएको नियम–कानूनलाई अनिवार्य पालना गर्नुपर्दछ । यहाँसम्म कि उनीहरुसँग हिँड्ने मान्छेहरुले कुन सामानलाई छुने, कसको सामान नछुनेसम्मको नियम लगाइएको हुन्छ । यहीक्रममा बेलायती महारानी एलिजाबेथको एउटा खास वस्तु छ, जसलाई जुनसुकै मूल्यमा पनि कसैले छुन सक्दैनन् । त्यो सामान हो, महारानीले बोक्ने कालो झोला । यो झोला छुन नपाउने पनि एउटा दिलचस्पी कारण छ ।

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाकी पूर्व चिफ अफ प्रोटोकल केप्रीशिया पेनविक मार्सलका अनुसार महारानीको ह्याण्डब्यागलाई कसैले छुन सक्दैन । सन् २०११ मा उनी ओबामाको बकिंघम प्यालेस भ्रमणका समयमा ओबामासँगै गएकी थिइन् । त्यहीबेला उनले महारानीको ह्याण्डब्यागमा छुन बन्देज छ भन्ने थाहा पाइन् । यसअघि कैयौं हाइप्रोफाइल परिवारसँगको भेटघाटमा केप्रीशियालाई महिलाको हेण्डब्याग समाउने बानी थियो । यही बानीलाई पछ्याउदै उनले महारानीको पनि ब्याग समाउने कोशिस गरेकी थिइन् ।

‘जसै महारानी बाहिर आउनुभयो, मैले दरबारका अधिकारीहरुलाई महारानीले आफै ब्याग बोक्नुभएको छ भनें । यसो भनेर अगाडि बढ्दा उनीहरुले मलाई ढोकाको पछाडि पुर्याए । ताकि मैले महारानीको ब्यागमा हात पुर्याउन नसकुँ । मैले तुरुन्तै माफी मागेपछि उनीहरुले ब्यागमा हात लगाउन नमिल्ने बताए’, उनले भनिन् ।

केप्रीशियाका अनुसार महारानीले आफ्नो अधिकारीहरुलाई ब्यागको माध्यमबाट सिग्नल दिने गर्दछिन् । कुनै कार्यक्रमको बेला आफ्नो टिमलाई सन्देश दिनका लागि उनी यो ब्यागको प्रयोग गर्छिन् । यदी त्यो ब्याग उनको हातको कुनै हिस्सामा छ भने त्यसले उनी मिटिङमा छिन् भन्ने अर्थ राख्दछ । तर उनले त्यो ब्याग भुइँमा राखिन् भने उनी निस्कन चाहन्छिन् भन्ने बुझ्नु पर्दछ ।