आइ लभ एनवाइका डिजाइनर मिल्टनको निधन

लसएन्जल्स(एजेन्सी) । ‘आइ लभ एनवाइ’ लोगोका डिजाइटर मिल्टन ग्लेसरको ९१ वर्षको उमेरमा निधन भएको छ । मिल्टनले यो लोगो सन् १९७७ मा पर्यटन प्रवद्र्धनका लागि बनाएका थिए । न्यूयोर्कको पर्यटनका लागि लोगो बनाए पनि यसले छोटो समयमै विश्वव्यापी रुपमा लोकप्रियता पाएको थियो ।

उनले बब डाइलनको पोस्टर पनि बनाएका थिए । जुन पोस्टर निकै लोकप्रिय रह्यो । मिल्टन न्युयोर्क म्यागेजिनका सहसंस्थापक पनि हुन् । उनकी श्रीमति सिर्लेका अनुसार मिल्टनको हृदयघातबाट निधन भएको हो । मिल्टनको जन्म सन् १९२९ मा न्यूयोर्ककको ब्रोन्क्समा भएको थियो । उनले मेनहटनको कोपर यूनियन फर द एडभान्समेन्ट अफ साइन्स एण्ड आर्ट कलेजमा अध्ययन गरेका थिए । उनले इटालीको बोलोग्नामा रहेको एकेडेमी अफ फाइन आर्टस्मा पनि अध्ययन गरे ।

उनले सन् १९५४ मा कलेजका तीन साथीहरुसँगको सहयोगमा पुष पिन स्टुडियो खोलेका थिए । जसमार्फत उनले विभिन्न कला कोरेका थिए ।