काठमाडौ । नयाँ व्याण्ड ‘प्रोजेक्ट वान’ले गत शनिवार बुटवलमा ‘टुबोर्ग फेरि उठ्नेछ नेपाल ३’ नामक भव्य कन्सर्ट गरेको छ । चिसो मौसमको वेवास्ता गर्दै बुटवलस्थित बुटवल मण्डपमा झण्डै पाँच हजार बढी दर्शकले व्याण्डमा रहेका गायकगायिकाको गीतबाट मनोरञ्जन लिए ।स्थानीय यस नेपाल इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले आयोजना गरेको कन्सर्टको शुभारम्भमा गायक रविन तामाङ आफ्नो व्याण्ड ‘रबिन एण्ड दी न्यू रिभोल्युसन’ लिएर उपस्थित भए । उनले आफ्नो व्याण्डको हिट नम्बर ‘नेपाल’, ‘भूलमा भुलियो’ र ‘केटा केटी’लगायतका गीतले मनोरञ्जन दिए ।
रविनको प्रस्तुति पछि स्टेजमा आएका ‘प्रोजेक्ट वान’ व्याण्डका अर्का गायन सदस्य तथा अनुप्रस्था व्याण्डका गायक निरन शाही ‘ह्वाट टु डु काठमाडू ?’गीत लिएर आए । उनलाई यो गीतमा दी स्याडोज नेपालका स्वप्निल शर्मा, मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य र रविन एण्ड दी न्यू रिभोल्युसनका रविन तामाङले साथ दिएका थिए । व्याण्डमा मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, अभया एण्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रास्ताजस्ता चर्चित व्याण्ड आबद्ध छन् ।
कन्सर्टमा अनुप्रस्थाले ‘दिन’ र ‘ह्वाट टु डु काठमाण्डू ?’, दी स्याडोज नेपालले ‘प्रकृति’ र ‘हिँड्ने मान्छे लड्छ’, अभया एण्ड दी स्टिम इन्जिन्सले ‘तिम्रो लागि’ र ‘सक्दिन’, मुक्ति एण्ड रिभाइभलले ‘चौबन्दी चोलो’ र ‘कान्छी नानी ब्लुज’ तथा प्रोजेक्ट वानले ‘जीत’, ‘बर्न’, ‘हामी एक हौं’, ‘नेपाल’ र ‘फेरी उठ्नेछ नेपाल’ गीत प्रस्तुत गरेको थियो । आफ्ना गीतमा दर्शक मैदानमा नाँचिरहँदा व्याण्डका गायकहरु स्टेजमा बाद्यवादकका साथ उस्तै गरी रमाइरहेका थिए । अत्याधुनिक प्रकाशको व्यवस्था गरिएको झकिझकाउ स्टेजको सजावटले दर्शकलाई मोहित बनाएको थियो ।यो व्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन् ।
व्याण्डमा वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, सारंगीमा केयूका प्रोफेसर भरत नेपाली, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् । व्याण्डवागन बाइ पोजिटिभ भाइब्सका प्रस्तुतकर्ता विकेश कायस्थले बुटवलको सांगीतिक इतिहासमा अहिलेसम्मकै ठूलो कन्सर्ट गरिएको दाबी गरे । व्याण्डले आगामी माघ २७ गते ललितपुरको जावलाखेलमा यस्तै कन्सर्ट गर्दैछ ।