बजरंगी भाइजानमा यसरी छानिइन् मुन्नी

मुम्बई(एजेन्सी) । सन् २०१५ को जुलाई १७ मा रिलिज बलिउड अभिनेता सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ले ५ वर्ष पुरा गरेको छ । यो फिल्म सलमानको करियरको सबैभन्दा सफल फिल्ममा गनिन्छ । फिल्मले स्वदेश तथा विदेशमा जोडदार कमाई गरेको थियो । फिल्ममा सलमानका अलावा बाल कलाकार हर्षाली मल्होत्राको कामलाई दर्शकले अधिक रुचाए ।

हर्षालीले ‘बजरंगी भाइजान’मा पाकिस्तानी मुस्लिम बालिका मुन्नीको भूमिका निभाएकी थिइन् । यो हर्षालीको डेब्यू फिल्म थियो । पहिलो फिल्मबाटै उनी लाइमलाइटमा आएकी थिइन् । तर हर्षालीलाई पाउन निर्माताले ठूलो मेहनत गर्नुपरेको थियो । मुन्नीको भूमिकाका लागि निर्दोष, सरल र सुन्दर मुस्कानवाला बालिका चाहिएको थियो । त्यसका लागि निर्माताले कैयौं बालिकाको अडिसन लिएका थिए । मुन्नीको भूमिका खोज्नका लागि निर्माताले झन्डै हजार बालिकाको अडिसन लिएका थिए ।

यो चरित्रका लागि भारत मात्र नभई, इरान, अफगास्तिानका बालिकाहरुले पनि अडिसन दिएका थिए । अन्त्यमा निर्माताले नयाँदिल्लीकी हर्षाली मल्होत्रालाई नै छनोट गरे । स्क्रिनमा जब हर्षाली आउथिन, दर्शकहरु कि त हाँस्थे, कि त रुन्थे । उनलाई यही फिल्मले रातारात स्टार बनाइदियो । डेब्यू फिल्ममा उनले निभाएको भूमिकाका लागि उनले कैयौं एवार्ड पनि पाइन् । हर्षाली यो फिल्म पछि कुनै फिल्ममा देखिएकी छैनन् । उनी सामाजिक सन्जालमा भने सक्रिय छिन् ।