मास्क नलगाउनेलाई तीन महिने श्रम सजाय

प्योङयाङ(एजेन्सी) । कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मास्कमा देखिन थालेका छन् । यो महामारीबाट उत्तर कोरियाली तानाशाह किम जोङ उन पनि डराइरहेका छन् । यही कारण उनले उत्तर कोरियामा मास्क नलगाउने व्यक्तिलाई कडा सजाय दिने घोषणा गरेका छन् ।समाचार अनुसार उत्तर कोरियाले कोरोनाको प्रसारलाई नियन्त्रण गर्न कडा कदम चालेको छ । यहाँ मास्क नलगाउनेलाई तीन महिनासम्म कडा श्रम गर्नुपर्नेछ । सरकारले यो आदेश जारी गरेपछि सर्वसाधारणमा खैलाबैला मच्चिएको छ । यद्यपि, कोही पनि किमको आदेशका विरुद्ध जान सक्दैनन् ।

उत्तर कोरिया प्रशासनले यो आदेशलाई कडा रुपमा कार्यान्वयन गर्नका लागि प्रहरीसँगै कलेज र विद्यालयका छात्रछात्राको समूह गठन गरिएको छ । यो समूहले विभिन्न स्थानमा घुम्दै मानिसहरुप्रति नजर लगाउँछन् । जोकोही पनि मास्क नलगाई बसेमा उनीहरुलाई कारवाहीको दायरमा ल्याउनेछन् । एक अधिकारीले कोरोनाको खतरालाई मध्यनजर गर्दै कडा कदम चालिएको बताए । यसको उल्लंघन गर्ने जोकोहीलाई पनि तीन महिनाको कडा श्रम गर्नुपर्ने सजाय तोकिएको छ ।

त्यसो त उत्तर कोरियामा कोरोना भाइरसका सम्बन्धमा कुनै जानकारी बाहिर आएको छैन । तर पछिल्लो महिना उत्तर कोरियासँग जोडिएको चिनियाँ प्रान्तमा संक्रमण फैलिएको खबर आएपछि उत्तर कोरियाली सरकारमा बेचैनी देखिएको थियो । त्यही कारण एक जुलाईबाट विद्यार्थीहरुलाई बिदाई दिइएको थियो ।

यो निर्णय लगत्तै जुलाई २ मा किम जोङ उनको अध्यक्षतामा कोरियन वर्कस पार्टीको एक बैठक बसेको थियो, जसमा कोरोनालाई नियन्त्रण गर्ने विषयमा महत्वपूर्ण निर्णय गरिएको थियो । बैठकले भाइरस नियन्त्रणमा असफल भएको भन्दै कैयौं वरिष्ठ स्वास्थ्य अधिकारीका विरुद्ध कारवाहीको आदेश जारी गरेको थियो ।