आठ महिनापछि भाले हिरासत मुक्त

इस्लामाबाद(एजेन्सी) । पाकिस्तानको सिन्ध प्रान्तको घोटकी जिल्लामा रहेको एक कुखुराको भाले आठ महिनापछि हिरासत मुक्त भएको छ । प्रहरीले भाले जुधाई खेलको दौरान छापा मार्दा भाले मालिकसहित भालेलाई पक्राउ गरेको थियो । पछिल्लो केही महिनामा विस्तारै विस्तारै जमानतमा रिहा गरे पनि भालेलाई जमानत दिन कसैले आफ्नो दाबेदारी प्रस्तुत गरेको थिएन ।

प्रहरीले सम्पत्तिको मुद्धाका रुपमा हिरासतमा पाँच भालेलाई राखेको थियो । आठ महिनसम्म हिरासतमा भालेलाई राख्नु प्रहरीका लागि टाउको दुखाईको विषय बनेको थियो । भालेलाई खानेकुरा खुवाउनका लागि गोजीको पैसा खर्च गर्नुपर्दथ्यो । प्रहरीले दैनिक सय रुपैंयाँ भालेको खानेकुराका लागि खर्च गर्दथे । भालेको हेरचाहका लागि एक प्रहरी अधिकारीलाई जिम्मा दिइएको थियो । बिरामी वा सुस्त हुनासाथ भालेलाई चिकित्सकबाट उपचार गराउनका लागि प्रहरीलाई आदेश दिइएको थियो ।

भालेलाई बिरालो र कुकुरको आक्रमणबाट जोगाउनका लागि सावधानीपूर्वक राखिएको थियो । भालेलाई नोक्सानीबाट जोगाउनका लागि लकअपको साटो खुला स्थानमा बाँधेर राखिएको थियो । पाकिस्तानका चार प्रान्त र विशेष रुपमा देहाती क्षेत्रमा भाले जुधाई मानिसका लागि मनोरन्जनको एक साधन हो । भाले जुधाईमा ठूलो मात्रामा पैसाको बाजी राखिन्छ ।

पाकिस्तानी कानूनमा खुला रुपमा शर्त राख्ने र जुवा खेलाउनेलाई अधिकतम एक वर्षको जेल सजाय र पाँच सय रुपैंयाँ जरिवानाको प्रावधान छ । केही महिला अघि प्रहरीले २४ व्यक्तिसँगै दुई अलग स्थानमा छापा मारेर पाँच भालेलाई हिरासतमा लिएको थियो । घोटकीमा बस्ने जफर मिरानीले जनन्यायधिसको अदालतमा भाले आफूलाई हस्तान्तरणको लागि निवेदन दिएका थिए । अदालतलाई उनले आफू केही कामले गर्दा कराँचीमा रोकिनु परेको बताएका थिए ।