‘पञ्चेबाजामा नसुनिएको र नदेखिएको कथा’

काठमाडौं । चारवटा क्षेत्रीय तहका फिल्म निर्देशन गरेर मूलधारका फिल्म निर्देशनमा आएका निर्देशक घनश्याम लामिछाने ग्रामीण कथाका फिल्म निर्देशनमा निकै चासो राख्छन् । पोखराका यी निर्देशकले ‘धौली’ र ‘अग्नीदहन’पछि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पञ्चेबाजा’सम्म आइपुग्दा ग्रामीण परिवेशलाई बिर्सन सकेका छैनन् ।

फागुन ११ गतेबाट प्रदर्शनमा आउने ‘पञ्चेबाजा’मा गाउँकै कथालाई प्राथमिकता दिएको बताए । ‘आफ्नो वरपरको कथालाई फिल्ममा प्रस्तुत गर्न सजिलो हुन्छ । गाउँघरको कथालाई फिल्ममा प्रस्तुत गर्दा आफूले देखेका र भोगेका विषयलाई समेट्न पाइन्छ,’उनले भने,‘ पञ्चेबाजा पनि त्यस्तै समाजमा देखिएको र भोगिएको एउटा कथा हो । म यो कथालाई अहिलेसम्म नलेखिएको र नदेखिएको कथा भन्न चाहन्छु । फिल्म हेरेपछि दर्शकले आफ्नो गाउँ पक्कै सम्झनेछन् ।’ उनले पोखराका धेरै गाउँमा फिल्म पुग्न अझैं बाँकी रहेको बताए ।

फिल्मका नायक सौगात मल्ल पनि गाउँमा फिल्म सुटिङ गर्दाको आनन्द सहरी क्षेत्रमा नपाइने बताउँछन् । ‘त्यसकारण म आजकल ग्रामीण भेगका कथामा बढी देखिन थालेको छु । साँच्चै भन्नु पर्दा मेरो अभिनय अहिले गाउँ फर्किएको छ ।’ उनले भने । फिल्ममा सौगातले नाट्यकर्मीको भूमिकामा अभिनय गरेका छन् । आफूले लामो समयसम्म नाटकमा अभिनय नगरेकाले फिल्मको कथा पनि मेरै जीवनसँग मिल्ने भएपछि आफ्नो चरित्र जस्तो लागेर अभिनय गरेको बताए ।

फिल्मकी नायिका जस्मिन श्रेष्ठले फिल्ममा आफ्नो भूमिका पृथक रहेको दाबी गरिन् । ‘विवाह अघि र पछि पनि अन्य व्यक्तिसँगको सम्बन्धले परिवारमा कस्तो असर पु¥याउँछ भन्ने चरित्रमा अभिनय गरेकी छु,’उनले भनिन्, ‘फिल्मको कथा अहिलेसम्म नदेखिएको र नभोगिएको विषयमा छ ।’

निर्माता राजेश शाहीले विगतका फिल्म एक्सन प्रधान र प्रेम कथामा आधारित रहे पनि यस पटक ग्रामीण समाजको संस्कृतिलाई समेटेर फिल्म बनाएको बताए । फिल्ममा कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरेलगायतको अभिनय छ ।