आफ्नो बायोपिकको आफैं निर्देशक

लसएन्जल्स(एजेन्सी) । अमेरिकी पप आइकन म्याडोनाले आफ्नो करियर र जीवन बारेमा निर्माण हुने फिल्मको निर्देशन आफैंले गर्ने भएकी छन् । उनी यो समयमा डियाब्लो कोडीसँग मिलेर स्क्रिप्ट लेखिरहेकी छन् । कोडी ओस्कार विजेता स्क्रिप्ट लेखिका हुन् । उनले ‘जुनो’ र ‘यङ एडल्ट’ को स्क्रिप्ट लेखेकी छन् ।

फिल्ममा म्याडोनाको न्यूयोर्कको सुकुमबासी बस्तीदेखि विश्वव्यापी स्टारडमसम्मको यात्रालाई देखाउनेछ । गायिका म्याडोनाका अनुसार फिल्म संगीत प्रधान हुनेछ । ‘संगीतले मलाई अगाडि बढायो र कलाले मलाई जीउन सिकायो’, उनले भनेकी छन् । हालसम्म नाम फाइनल भइनसकेको यो प्रोजेक्ट अघि म्याडोनाले सन् २००८ मा ‘फिफ्थ एण्ड विजडम’ र सन् २०११ मा ‘वी’ निर्देशन गरेकी थिइन् । यो फिल्म राजा इडवार्ड भिलको वालिस सिम्पसनसँगको अफेयरमा आधारित थियो ।

यो फिल्मलाई समीक्षकले आलोचना गरेका थिए र बक्सअफिसमा डिसास्टर साबित भएको थियो । जसकारण फिल्मले बक्सअफिसमा २ मिलियन डलरमात्र आम्दानी गर्यो, जबकी फिल्मको बजेट नै ११ मिलियन थियो । हलिउडमा पछिल्लो समयमा बायोपिक फिल्मतिर निर्माताको ध्यान जान थालेको छ । खास गरी इल्टोन जोनको ‘रकेटमेन’ र फ्रेडी मर्करीको फिल्म ‘बोहमेन रेपसोडी’को सफलताले सबैको ध्यान केन्द्रीत गरेको हो ।

म्याडोनाको फिल्मलाई युनिभर्सल पिक्चर्सले निर्माण गर्नेछ । फिल्मका लागि कलाकार वा प्राविधिकको नाम फाइनल भइसकेको छैन । एउटा महिलाले पुरुषको विश्वमा सफलता पाउन गरेको संघर्षलाई फिल्ममा देखाउने गायिकाले बताइन् । म्याडोनाले फिल्ममा गायिकाको संघर्षको दौरान आउने खुशी, दुःख, पागलपन, आशक्ति, राम्रो, नराम्रो र निर्दोषपनालाई देखाउने बताइन् । यसबाहेक फिल्ममा उनको कलाकार जिन माइकल बास्क्वेटसँगको सम्बन्धबारे पनि देखाउने उनको भनाइ छ ।