जोकरको सिक्वेल तयारी

लसएन्जल्स(एजेन्सी) । अमेरिकी निर्देशक टड फिलिप्स निर्देशित हलिउड फिल्म ‘जोकर’ सन् २०१९ को ब्लकब्लस्टर फिल्म बन्यो । यो फिल्ममा आफ्नो दमदार अभिनयका कारण विश्वभरका दर्शकको मन जितेका अभिनेता वोकिन फिनिक्स चाँडै नै ‘जोकर’को सिक्वेलमा फर्किदैछन् । उनलाई ‘जोकर २’को लागि निर्माताले ५० मिलियन डलरको अफर गरेका छन् ।

समाचार अनुसार फिल्मको सिक्वेललाई लिएर निर्देशक, अभिनेता वा निर्माताले कुनै योजना बनाएका थिएनन् । तर समिक्षात्मक र व्यावसायिक सफलतापछि वोकिन र टोडले फिल्मको सिक्वेल बनाउने योजना बनाएका हुन् । वोकिनले फिल्ममा आफ्नो प्रस्तुतिका लागि ओस्कार एकेडेमी अवार्ड जितेका थिए । सन् २०२० को ओस्कारमा यो फिल्म ११ अलग–अलग विधाको मनोनयनमा परेको थियो । यो पहिलो ‘आर रेटेड(१८ वर्ष भन्दा कम उमेरकालाई हेर्न निषेध गरिएको)’ फिल्म थियो, जसले एक बिलियन भन्दा अधिक कमाई गरेको थियो ।

वोकिनले फिल्मलाई एक स्टेण्ड अलोन फिल्म मानेका थिए, तर अब उनको सोच बदलिएको छ । गत वर्ष भएको विवादका बाबजुद उनी पुनः पर्दामा त्यो भूमिका निभाउन चाहन्छन् । हाल फिल्मको स्क्रिप्ट लेखनमा वोकिन व्यस्त छन् । निर्देशक टोड, अभिनेता वोकिन र निर्माता ब्रेडली कुपर आगामी चार वर्षमा ‘जोकर’को दुई सक्वेल बनाउने योजनामा छन् ।