जेम्स बोण्डलाई विस्थापित गर्दै टम

लसएन्जल्स(एजेन्सी) । जेम्स बोण्डको फ्रेन्चाइजीलाई दर्शकले अत्याधिक रुचाए । सिन कोनरी, रोजर मोर, पिर्स ब्रोसनेन हुँदै वर्तमान स्टार डेनियल क्रेगसम्मको यात्रामा दर्शकबाट राम्रो माया पाए । फिल्ममा सेक्रेट एजेन्टको भूमिकामा देखिएका यी कलाकारको ‘लाइसेन्स टु किल’ शैली दर्शकका लागि विशेष बन्यो ।

अभिनेता डेनियलका लागि ‘नो टाइम टु डाइ’ जेम्स बोन्डका रुपमा अन्तिम फिल्म हो । डेनियल पछि जेम्स बोण्डको आगामी सिरिजमा अभिनेता टम हार्डे देखिँदैछन् । टम ‘म्याड मेक्स’, ‘वारियर’, ‘भेनम’, ‘द रिभिनेन्ट’, ‘द डार्क नाइट राइजेज’ र ‘इन्सेप्सन’ जस्ता फिल्मबाट चिनिन्छन् । टमलाई ००७ सिरिजको नयाँ अभिनेताका रुपमा नोभेम्बरमा ‘नो टाइम टु डाइ’को बेला घोषणा गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण त्यो मिति परिवर्तन हुनसक्ने अनुमान लगाइएको छ ।

फिल्म ‘नो टाइम टु डाइ’का निर्देशक केरी फुकुनागा हुन् । उनले ‘ट्रयु डिटेक्टिभ’को सिजन १ का लागि एमी अवार्ड जितेका थिए । उनले नेटफ्लिक्स सिरिज ‘मेनिएक’को पर्दा पछाडि बसेर काम गरेका थिए । ‘नो टाइम टु डाइ’मा राल्फ फिनिस, नाओमाइ हेरिस, बेन विसअ, लि सेडक्सलगायतका कलाकारको पनि अभिनय छ ।