विवादास्पद आइटम गर्ल मिष्टीको निधन

मुम्बई(एजेन्सी) । बंगाली र हिन्दी फिल्ममा काम गरिसकेकी अभिनेत्री मिष्टी मुखर्जीको २७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । शुक्रबार साँझ बेङ्लोरमा निधन भएको उनको शनिबार अन्तिम संस्कार गरिएको थियो ।

सन् २०१३ मा फिल्म ‘के कृष्णा हुँ’बाट बलिउडमा डेब्यू गरेकी मिष्टी मृगौलाको समस्यासँग जुधिरहेकी थिइन् । उनी केही महिना यता किटो डाइटमा थिइन् । उनको परिवारमा अभिभावक र भाइ छन् ।

उनले फिल्म ‘मे कृष्णा हुँ’ मा आइटम नृत्य गरेपछि निर्देशक राकेश मेहताको फिल्म ‘लाइफ की तो लग गई’मा काम गरेकी थिइन् । उनी बोल्ड म्यूजिक र आइटम नम्बरका लागि प्रख्यात थिइन् । यसबाहेक उनी कैयौं पार्टी र इभेन्ट्समा पनि देखिएकी थिइन् ।

सन् २०१४ मा मिष्टीको नाम एउटा ठूलो विवादमा मुछियो । यसपछि मुम्बईमा उनको घरमा छापा मार्दा कैयौं अश्लील सिडी बरामद भए । यो मामलामा उनको पिता र भाईलाई प्रहरीले गिरफ्तार गरेको थियो । पछि उनीहरुलाई जमानतमा छोडियो ।