मुम्बई(एजेन्सी) । बलिउड तथा दक्षिण भारतीय फिल्मकी अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण भएको छ । ‘बाहुबली’, ‘इन्टरटेनमेन्ट’, ‘हिम्मतवाला’ र ‘एक्सन’ जस्ता फिल्ममा अभिनय गरेकी तमन्नाको कोभिड–१९ रिपोर्ट पोजेटिभ आएको हो । विगत केही दिनदेखि हैदराबादमा एक वेब सिरिजको छायांकनमा व्यस्त उनलाई त्यही कोरोना भाइरसको लक्षण देखिएको थियो । उनका अनुसार आफूलाई संक्रमणको शंका लागे पछि उनी हैदराबादको अस्पताल पुगेकी थिइन् । तमन्नालाई कोरोना संक्रमणको समाचार सार्वजनिक हुनासाथ फिल्मकर्मी तथा फ्यानले सामाजिक सन्जालमार्फत स्वास्थ्यलाभको कामना गरेका छन् ।
गत अगष्टमा उनको परिवारलाई कोरोना संक्रमण भएको थियो । त्यो बेला उनको रिपोर्ट नेगेटिभ आएको थियो । ‘मेरो परिवारका सदस्यलाई कोरोनाको लक्षण देखिएको थियो । त्यसपछि अस्पतालमा गएर टेस्ट गर्दा रिपोर्ट पोजेटिभ देखियो । हामी स्वास्थ्य निर्देशिका अनुसार काम गरिरहेका छौं’, उनले त्यसबेला लेखेकी थिइन् ।
यी अभिनेत्री तेलुगू फिल्म ‘सेटीमार’ मा कबड्डी कोचको भूमिकामा देखिँदैछिन् । यसअघि कुनै पनि खेल नखेलेकी तमन्नाले यो भूमिका आफ्ना लागि निकै चुनौतीपूर्ण रहेको बताइन् । ‘मैले तेलंगना कबड्डी टिमको कोचको भूमिका निर्वाह गरेको छु । गोपीचन्दले आन्ध्रा कबड्डी टिमको कोचको भूमिका गर्नुभएको छ । यो भूमिका चुनौतीपूर्ण र प्रेरणादायी छ । खेलमा जीवन बिताएका खेलाडीका लागि यो समर्पित हुनेछ ’, उनले भनेकी छन् ।