तेरे नाम सिक्वेलको तयारी

मुम्बई(एजेन्सी) । सन् २००३ मा रिलिज फिल्म ‘तेरे नाम’ केवल आफ्नो कमाईको लागि मात्र चिनिएको छैन । यसले ट्रेड सेन्टरमा पनि आफ्नो उस्तै पहिचान बनाएको छ । यो फिल्ममा अभिनेता सलमान खान ‘राधे मोहन’ बनेका थिए । यो फिल्म रिलिज भएपछि गाउँ र सहरमा लामा कपालवाला हेयरस्टाइलर रातारात चर्चित बनेको थियो । यो फिल्ममा सतीश कौशिकको निर्देशन थियो । अब यो फिल्मको सिक्वेलको तयारी भइरहेको नयाँ खबर बाहिर आएको छ ।

सतीशले हालै दिएको एक अन्तरवार्तामा आफ्नो दिमागमा फिल्मको सिक्वेललाई लिएर धेरै कथाहरु आइरहेको बताएका थिए । उनले सलमान खानसँग कुरा गर्न बाँकी रहेको जनाउ दिए । ‘पुरानो फिल्ममा राधे मोहनको भूमिकाको पाइलामा रहेर कैयौं किसिमका फिल्म बनाउन सकिन्छ । यदी नयाँ फिल्म बनाउने योजना अगाडि बढ्ने हो भने त्यहीबाट फिल्म शुरु हुनेछ, जहाँ तेरे नाम सकिएको थियो’, उनले भनेका छन् ।

फिल्म ‘तेरे नाम’मा सलमानको अपोजिटमा भूमिका चावला थिइन् । फिल्ममा हिमेश रेशमीयाले संगीत दिएका थिए । फिल्मका गीतहरु तत्कालिन समयमा सर्वाधिक सफल मानिएका थिए । फिल्मका गीतहरु ‘ओढनी ओढ के नाचूं’, ‘तेरे नाम हमने किया है’, ‘ओ जाना कह रहा है दिल ओ जाना’, ‘लगन लगी’, ‘तुमसे मिलना बडा अच्छा लगता है’गीत अहिले पनि उत्तिकै सदाबहार छन् ।