मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खानले केही दिन अघि मात्र आफ्नो नयाँ फिल्म ‘पठान’को सुटिङ शुरु गरेका छन् । यो फिल्मलाई यशराज फिल्मस्ले निर्माण गर्दैछ । फिल्मको निर्देशन ‘बेङ बेङ’ र ‘वार’ जस्ता सफल एक्सन थ्रिलर फिल्मका निर्देशन सिद्धार्थ आनन्दले गर्दैछन् । फिल्म ‘पठान’मा शाहरुख एक्सन अवतारमा देखिदैछन्, जसमा बलिउडका भाइजान अर्थात सलमान खानको पनि अभिनय रहनेछ ।
समाचार अनुसार फिल्ममा सलमानको १० देखि १२ मिनेटको केमियो हुनेछ । जसका लागि उनी चाँडै सुटिङ शुरु गर्देछन् । सलमान यशराज ब्यानरको फिल्म ‘टाइगर’ सिरिजका एक हिस्सा हुन् । त्यहीकारण पनि निर्माता आदित्य चोपडा सलमानलाई ‘पठान’मा प्रवेश गराउन चाहन्छन् । यसले फिल्मलाई मात्र हैन, दर्शकलाई पनि उत्तिकै फाइदा हुनेछ ।
फिल्म ‘पठान’मा सलमानको प्रवेशसँगै एउटा नयाँ समाचार पनि बाहिर आएको छ । त्यो के हो भने यशराजकै व्यानरमा फिल्म ‘वार’को सिक्वेल ‘वार २’को पनि निर्माणको तयारी हुँदैछ । ऋतिक रोशनको पनि अभिनय रहने फिल्ममा शाहरुख र सलमानसँगै ऋतिकको पनि जासूसको भूमिकामा देखिनेछन् । अभिनेता सलमान ‘पठान’को छायांकन सकेपछि ‘टाइगर ३’मा व्यस्त हुनेछन् । फिल्ममा उनको अपोजिटमा कटरीना कैफ फाइनल भइसकेकी छन् ।