कपिल शोबाट भारतीलाई हटाउने तयारी

मुम्बई(एजेन्सी) । कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचिया लागुऔषध मुद्दाको चंगुलमा पूर्ण रुपमा फँसेका छन् । लागुऔषध मामलामा भारतीको नाम जोडिएपछि उनी समस्याको घेराबन्दीमा परेकी छन् । लागुऔषध मामलामा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेर रिहा भएपछि पनि उनीमाथि समस्या थपिँदै गएको छ । यहीकारण लागुऔषधमा नाम जोडिएपछि भारतीलाई सोनी टेलिभिजनको कमेडी शो ‘द कपिल शर्मा शो’बाट निकालिएको छ ।

समाचार अनुसार लागुऔषधको मुद्दामा जोडिएपछि च्यानलले भारतीलाई शोबाट निकाल्ने मनस्थिति बनाइसकेको थियो । शोमा च्यानल राम्रो छवि भएको कमेडियनलाई प्राथमिकता दिन्छ । तर कपिलले भने भारतीलाई प्रतिबन्ध लगाउन नहुने भन्दै टेलिभिजनसँग कुराकानी गरेका छन् ।

स्रोतका अनुसार भारतीलाई शोबाट निकाल्ने करिब करिब तय भइसकेको छ । निर्माताहरुले कपिलको शो एक पारिवारिक शो भएकाले कुनै विवादित व्यक्तिलाई शोको हिस्सा बनाउन नसकिने जनाएको छ ।

एउटा यस्तो समय पनि थियो कि जब भारती सिंहको कमेडीले नै कपिलको शोको टीआरपी बढाएको थियो । सन् २०१८ मा कपिल शर्मा समस्यामा पर्दा भारतीले नै उनलाई सहयोग गरेका थिए । त्यो समयमा अली असगर, उपासना सिंह र सुनिल ग्रोवर जस्ता कलाकारले कपिललाई छोडेका थिए ।