शिवसेना प्रवेश गर्दै उर्मिला

मुम्बई(एजेन्सी) । पाँच महिना अघि मात्र राजनीतिबाट अलग्गिएकी बलिउड अभिनेत्री उर्मिला मातोडकर पुनः राजनीतिमा आउने भएकी छन् । उनी मंगलबार शिवसेनाको पार्टीमा प्रवेश गर्दैछिन् । यद्यपि अभिनेत्रीले यसबारे कुनै आधिकारिक भनाई राखेकी छैनन् । तर उर्मिलालाई महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेको नेतृत्वमा रहेको पार्टीमा प्रवेश गराइनेछ ।

केही दिन अघि महाराष्ट्रमा सत्तारुढ पार्टी शिवसेनाले उर्मिलालाई विधान परिषदको सदस्य बनाउनका लागि राज्यपालमा नाम पठाएको थियो । महाराष्ट्रको महाविकास अघाडीको सरकारले राज्यपाललाई १२ जनाको नामको सूची पठाएको थियो । जसलाई विधान परिषदको सदस्य बनाउन भनिएको थियो । महाराष्ट्रमा शिवसेना, एनसीपी र काँग्रेसको महा विकास अघाडी गठबन्धन छ । जसअनुसार गठबन्धनको तर्फबाट हरेक पार्टीले ४–४ जनाको नाम पठाउनुपर्दछ । जसमा शिवसेनाले उर्मिलाको नाम राज्यपाल भगत सिंह कोश्यारीमाझ पठाएको थियो ।

उर्मिलाको राजनीतिक करियर धेरै लामो र विशेष छैन । उनले लोकसभा चुनाव २०१९ मा अप्रिलमा काँग्रेस पार्टी प्रवेश गरेकी थिइन् । योसँगै उनले राजनीतिमा पाइला चालेकी थिइन् । तर पाँच महिनामा नै उनले काँग्रेसबाट राजीनामा दिँदै राजनीतिबाट अलग्गिने निर्णय लिइन् । काँग्रेसले आफूलाई बढी प्रयोग गरिरहेको उनको आरोप थियो ।

उर्मिलाले आफ्नो अभिनय कयिरको शुरुवात बाल कलाकारका रुपमा मराठी फिल्म ‘झाकोला’बाट शुरु गरेकी थिइन् । उनले फिल्म ‘कलयुग’बाट उनले बलिउडमा डेब्यू गरेकी थिइन् । उनी पछिल्लोपटक फिल्म ‘ब्ल्याकमेल’मा आइटम डान्सरका रुपमा देखिएकी थिइन् ।