कसलाई अपार माया दिँदैछन् परशुराम ?

चितवन । चितवनका गायक परशुराम पाण्डेको नयाँ गीत ‘माया दिन्छु अपार’ को भिडियो सार्वजनिक भएको छ । आधुनिक कवाली शैलीको उक्त गीत उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा गायक पाण्डेकै शब्द तथा संगीत रहेको छ । गीतमा मनोहर सुनामको संगीत संयोजन छ । गीतको भिडियो चितवनकै मनोरम पर्यटकिय स्थलहरुमा छांयाकन गरिएको छ । चितवनको जलबिरेस्थित लामो झरना, नारायणी नदी किनार, लाइम एण्ड लेमन लगायतका स्थानहरुमा गीतको छायांकन गरिएको हो ।

भिडियोमा मोडल सुधिर श्रेष्ठ र दीपा शर्मा फिचर्ड छन् । यस्तै गायक पाण्डेसहित अन्य स्थानीय कलाकारहरुलाई पनि भिडियोमा देख्न सकिन्छ । भिडियोमा सुरेश चौधरीको निर्देशन छ । यस्तै गीतमा नृत्य निर्देशन पनि चौधरीकै छ । प्रवेश पण्डित, प्रितम कार्की, बिजय नेपाली र अर्जुन चापागाइको छायांकन रहेको भिडियोमा सुरेश चौधरीकै सम्पादन छ ।

पाण्डेको यस अघि ‘के लानु छ र मरेर’ बोलको लोक चुट्का भजन र ‘जय शिव शंकर’ बोलको शिव भजन चलेका गीतमा पर्दछन् ।