राम चरणलाई कोरोना संक्रमण

मुम्बई(एजेन्सी) । दक्षिण भारतीय सुपरस्टार राम चरणलाई कोरोना संक्रमण भएको छ । यो कुराको जानकारी उनले आफ्ना फ्यानलाई दिएका हुन् । उनले सामाजिक सन्जालमा आफूलाई कोभिड–१९ पोजेटिभ भएको र घरमा नै क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन् ।

‘मेरो कोभिड–१९ टेस्ट पोजेटिभ आएको छ । यद्यपि ममा कुनै लक्षण देखिएको छैन । तर मैले आफूलाई घरमा नै क्वारेन्टाइन गरेको छु । आशा छ कि म ठिक हुनेछु र निकै मजबुत भएर बाहिर आउनेछु’, उनले लेखेका छन्, ‘जो व्यक्ति पछिल्ला केही दिनमा मसँग वा मेरो आसपास थिए, उनीहरुले पनि आफ्नो टेस्ट गर्नुहोला । म आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउनेछु ।’

हालैमात्र राम चरणले आफ्नो साथी र परिवारका साथ क्रिसमस सेलिब्रेट गरेका थिए । सेलिब्रेसनको केही तस्बिर उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा राखेका थिए । जसमा उनकी पत्नी उपासना कामिनेनी, अल्लू अर्जुन, निहारिका कोनिडेला र केही साथी थिए । यसअघि राम चरण आफ्नो कजन बहिनी निहारिकको विवाहमा सहभागी भएका थिए । निहारिकाको विवाहमा राम चरण नाचेको केही फोटो बाहिर आएको थियो ।

राम चरण अघि उनका पिता तथा दक्षिण भारतीय दिग्गजन अभिनेता चिरञ्जीवीलाई पनि कोरोना भाइरसको संक्रमणबाट मुक्त भइसकेका छन् । कामको कुरा गर्दा राम चरण ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा देखिँदैछन् ।