२३० करोडमा बिक्यो सलमानको राधे

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’लाई लिएर एउटा समाचार बाहिर आएको छ । फिल्मले एक स्टुडियोसँग ठूलो सम्झौता गरेको छ । कोरोना महामारीका कारण रिलिजमा पछाडि सरेको यो फिल्म अवस्थामा सुधार आएमा सन् २०२१ को इदमा रिलिज हुनेछ ।

यो फिल्म यसै वर्षको इदमा रिलिज हुने तयारीमा थियो । तर कोरोना महामारीलाई नियन्त्रण गर्न लागु गरिएको लकडाउनका कारण फिल्म हल बन्द भएपछि रिलिज मिति पछाडि सरेको हो । सलमानले फिल्मको केही भागको छायांकन लकडाउन पछि पुरा गरेका थिए । हालै मात्र उनले आफ्नो जन्मदिनमा सञ्चारमाध्यमलाई सबै कुरा मिल्यो भने इदमा रिलिज गर्ने योजना रहेको बताएका थिए ।

यो फिल्मको निर्देशक प्रभु देवा हुन् । एक्सन थ्रिलर यो फिल्ममा रणदीप हुड्डा, ज्याकी श्राफ र दिशा पटानी प्रमुख भूमिकामा छन् । यो वर्ष कैयौं फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भएका थिए । तर सलमानले भने फिल्मलाई थिएटरमै लगाउने अडान लिएका थिए ।

समाचार अनुसार फिल्मले जी स्टुडियोसँग २ सय ३० करोड रुपैंयाँको सम्झौता गरेको छ । सलमानले फिल्मलाई भारत र ओभरसिजको थिएट्रिकल, म्यूजिकल र डिजिटल राइट्स जी स्टुडियोलाई बेचेका हुन् । यो फिल्म कोरियन फिल्म ‘द आउटलज’को रिमेक हो ।