कृष ४ मा सुपरहिरो सुपरभिलेन ऋतिक

मुम्बई(एजेन्सी) । सन् २०१९ मा ब्लकबस्टर फिल्म ‘वार’ दिएपछि अभिनेता ऋतिक रोशनले आफ्नो नयाँ फिल्मको बारेमा केही बोलेका छैनन् । तर उनलाई कैयौं फिल्मबाट लगातार अफर आइरहेको छ । उनको सुपरहिरो फिल्म ‘कृष’को चौथो सिरिज ‘कृष ४’मा पनि चर्चामा छन् ।

फिल्मका निर्माता तथा निर्देशक तथा ऋतिकका पिता राकेश रोशनले फिल्मलाई ब्लकबस्टर बनाउनका लागि कुनै कमी बाँकी राखेका छैनन् । त्यहीकारण पनि फिल्मको घोषणामा लामो समय लागिरहेको छ । फिल्ममा ऋतिक मात्र नभई महिला पात्र पनि सुपरहिरो लुक्समा देखिने छिन् । यसअघि फिल्ममा ऋतिकको चारवटा भूमिका हुने बताइए पनि अहिले आएर भने उनको तीनवटा चरित्र हुने खुलेको छ ।

ऋतिकले ‘कृष’ सिरिजको पछिल्लो संस्करणमा दोहोरो भूमिका निभाएका थिए, एक कृष र अर्को रोहितको । अब चौथो संस्करणमा जादू र रोहित पनि देखिनेछन् । ‘कृष ४ मा ऋतिक न त प्रमुख हिरोको भूमिका निभाउनेछन्, उनी फिल्मको मुख्य भिलेन पनि हुनेछन् । फिल्मको कथा नै त्यसरी निर्माण गरिएको छ । फिल्ममा उनी नै सुपरहिरो र सुपरभिलेन हुनेछन् । यदि यस्तै भयो भने फिल्मको क्लाइमेक्समा दुई ऋतिकको द्वन्द्व हेर्न पाइनेछ’, फिल्म निकट स्रोतले भन्यो ।

यसअघि रजनीकान्तको फिल्म ‘रोबोट’, ‘२.०’मा यस्तै कुरा हेर्न पाइएको थियो । यी फिल्ममा रजनीकान्तको तीनवटा भूमिका थिए । जसमा एक वैज्ञानिक, दोस्रो राम्रो रोबोट र तेस्रो खराब रोबोटको थियो । अब राकेश रोशन यही अवधारणा ‘कृष ४’मा राख्न चाहन्छन् ।