अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

नयाँदिल्ली(एजेन्सी) । महाराष्ट्रको भण्डारा जिल्लामा रहेको स्पेशल न्यूबर्न केयर युनिटमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ । अस्पतालका चिकित्सकका अनुसार मृतक सबै शिशु एक महिनादेखि तीन महिना बीचका थिए । डिस्ट्रिक्ट सिभिल सर्जन प्रमोद खण्डातेले भण्डाराको जिल्ला अस्पतालमा राती डेढ बजे आगलागी भएको बताए

उनका अनुसार यूनिटमा कुल १७ बच्चा थिए । जसमा सात नवजात शिशुलाई बचाइएको छ । एक नर्सले नवजात शिशुको सेक्सनमा धुवाँ आएको थाहा पाएपछि अस्पतालका कर्मचारी आगो निभाउन सक्रिय भएका थिए । ‘दमकलकर्मीले सात नवजात शिशुलाई भित्रबाट सुरक्षित निकाले । तर १० नवजातलाई बचाउन सकेनन् । वार्डमा नवजात शिशुलाई लगातार अक्सिजनको आवश्यकता थियो । आगोलाई तत्काल नियन्त्रणमा लिने प्रयास भए पछि धेरै धुँवाका कारण बच्चालाई बचाउन सकिएन । मृतक नवजात शिशुको परिवारलाई हामीले खबर गरिसकेका छौं । सात बच्चालाई अलग वार्डमा राखेका छौं’, उनले भनेका छन् ।

नवजात शिशुको वार्ड भवनमा नै अस्पतालको आइसीयू, डायलिसस विंग र प्रसव विभाग छन् । यी सबैलाई सुरक्षित स्थानमा सारिएको छ । आगो के कारणले लाग्यो भन्ने थाहा हुन सकेको छैन । तर इलेक्ट्रिक सटका कारण भएको हो कि भन्ने अनुमान गरिएको छ । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले मृतक नवजात शिशुको परिवारलाई जनही पाँच पाँच लाख रुपैंयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।